मृत्यु पुष्टि भएका नेपालीको संख्या ४९ पुग्यो, रुसी सेनामा करिब १५ सय नेपाली रहेको अनुमान, एकवर्षे करारपत्र रद्द गरेर १६२ जना फिर्ता
काठमाडौँ — कञ्चनपुरको वेदकोट–९ सुन्दरपुरकी कमलादेवी विष्टलाई रुसी सेनामा भर्ती भएका छोरा लोकेन्द्रबहादुरले गत असारमा मेसेन्जरमा भनेका थिए, ‘चिन्ता नलिनु आमा, ऋण तिरिसकेको छु, अब फर्किएर घर बनाउने हो ।’ छोराको त्यो वचनयता कमलादेवीको फोन सुनसान थियो, आँखाबाट दशधारा रोकिएका थिएनन् । अन्ततः रुसबाट त्यो खबर आयो, जुन खबरले उनी स्तब्ध भएकी छन् ।
खबर छ– उनै लोकेन्द्रसहित थप १० नेपालीको रुस–युक्रेन युद्धमा मृत्यु ।
छिमेकी विराजन विष्ट र उनका भाइ निराजनसँगै दलाललाई ७ लाख रुपैयाँ बुझाएर रुस गएका लोकेन्द्र असार २८ देखि बेखबर थिए । लोकेन्द्रसँगै गएका विराजनको पनि मृत्यु पुष्टि भएको छ भने निराजन घाइते छन् । लोकेन्द्र रुसको नियन्त्रणमा रहेको युक्रेनको जैपसोरिजिया क्षेत्रमा मारिएका हुन् । मलेसिया, साउदी अरब र संयुक्त अरब इमिरेट्समा काम गरेर फर्केका लोकेन्द्र आकर्षक तलब पाउने आसमा रुसी सेनामा भर्ती हुन पुगेका थिए ।
रुसी सेनामा भर्ती भएर युक्रेनसँगको युद्धमा खटिएका थप १० नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले सोमबार पुष्टि गरेको हो । मस्कोस्थित नेपाली दूतावासले पुस ८ सम्म परराष्ट्र मन्त्रालयमा पठाएको विवरणअनुसार हालसम्म रुस–युक्रेन युद्धमा मृत्यु हुने नेपालीको संख्या ४९ पुगेको छ ।
मोरङका जीवन राई, कञ्चनपुरका विराजन र लोकेन्द्रबहादुर, रोल्पाका गणेशसिंह पुन, स्याङ्जाका गणेश श्रेष्ठ, उदयपुरका ओमबहादुर मगर, जीवन लिम्बू, मोहन तामाङ र ध्रुव घर्तीमगर तथा चितवनका रञ्जित गुरुङको पनि मृत्यु पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सरकारले मृत्यु भएका सबैको परिवारलाई जानकारी दिएको छ । सरकारले औपचारिक जानकारी दिनुअघि नै अधिकांश परिवारले काजक्रिया गरिसकेका छन् । कञ्चनपुरका विराजनको वैशाख ५ मै बंकरभित्र ड्रोन आक्रमणमा परी मृत्यु भएको थियो । तर रुस र नेपाल सरकारले पुष्टि गरेका थिएनन् । साथीहरूको सूचनाका आधारमा परिवारले विराजनको अन्तिम संस्कार गरेका थिए । ‘उहाँसँग अन्तिम संवाद भएको तीन दिनपछि युद्धमा मृत्यु भएको खबर आयो, बंकरमा नै विस्फोटमा मारिएको भिडियोसमेत पाएका थियौं,’ पत्नी चाँदनीले भनिन्, ‘त्यसकै आधारमा काजक्रियाको विधि पूरा गर्यौं ।’
तर पति विराजनको अन्तिम संस्कार गर्न बुधबार (पुस १० मा) रुसको राजधानी मस्कोतर्फ जाने तयारीमा रहेको चाँदनीले बताइन् । ‘नेपालबाट मस्को उड्न टिकट नै पाएनौं, बुधबार दिल्लीबाट दुबई हुँदै मस्को जाँदै छौं,’ उनले भनिन्, ‘म र दाइ छौं । मस्कोमा अन्तिम संस्कार गरी क्षतिपूर्तिका लागि आवश्यक प्रक्रिया अघि बढाउनेछौं । क्षतिपूर्ति नपाएसम्म मस्कोमै बस्छौं ।’ रुस–युक्रेन युद्धमा गम्भीर घाइते भएका देवर निराजनलाई पनि भेट्ने योजना रहेको उनले बताइन् ।
चितवनका रञ्जित गुरुङ जेठ २५ सम्म अन्तिम सम्पर्कमा थिए । ‘आजबाट अर्को ठाउँमा जाँदै छु, यो ठाउँलाई बिदाइ गरियो । मेरो कुल देउताले रक्षा गरून् । अन्तको बसाइ पनि राम्रो होस्,’ युद्धको अर्को मोर्चामा जानुअघि उनले टिकटकमा आफ्नो भिडियो हाल्दै भनेका थिए, ‘सम्भव भएसम्म चाँडो अर्को भिडियो अपलोड गर्नेछु ।’ त्यसपछि उनी सम्पर्कमा आएनन् ।
वैदेशिक रोजगारीका लागि दुबई पुगेका गुरुङ उतैबाट रुसी सेनामा भर्ती हुन पुगेका थिए र त्यसको सातौं महिनामा युद्धमा ज्यान गुमाएका हुन् । रुस र युक्रेनबीचको १७ सय किमि सीमा क्षेत्रमा चलिरहेको युद्धमा रुसी सेनामा रहेर खटिएका नेपालीको आधिकारिक तथ्यांक नेपाल सरकारसँग छैन । युद्धमा खटिएका र फर्किएका नेपालीका अनुसार रुसले युद्धसम्बन्धी पूरा तालिम नदिई ‘रेड जोन’ मा पठाउँदा मानवीय क्षति बढेको हो ।
१ सय १८ जनाका परिवारले युद्ध मैदानमा बेपत्ता भएको भन्दै कन्सुलर विभागमा निवेदन दिएका छन् । यीमध्ये रुसी सरकारको अनुरोधमा ५७ जनाका पारिवारिक सदस्यले शव पहिचानमा सहयोग पुगोस् भन्दै डीएनए नमुनासमेत पठाएका थिए । तर अझै पुष्टि हुन सकेको/नसकेको केही जानकारी आएको छैन ।
परराष्ट्र मन्त्रालयले १८ मंसिर २०८० मा रुस सरकारलाई ‘नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र गरिएको भए उनीहरूलाई तत्काल नेपाल फर्काउन’ भन्दै कूटनीतिक नोट पठाएको थियो । करिब १५ सय नेपाली रुसी सेनामा भर्ना भएको अनुमान छ । त्यसमध्ये एक वर्ष करारपत्र रद्द गरेर १ सय ६२ जना नेपाल आइसकेको तथ्यांक नेपाली दूतावाससँग छ ।
नेपाल सरकारको पहलपछि रुसले गत मेबाट नेपालीलाई भर्ना लिन छाडेको परराष्ट्रको दाबी छ । त्यसयता करार नवीकरण गर्न नचाहनेका लागि रुसी सरकारले खुकुलो नीति लिएको छ । ‘करारपत्र समाप्त भएका धेरै नेपाली फर्किएका छन्,’ रुसका लागि कार्यवाहक राजदूत सुशील घिमिरेले भने, ‘कतिपय करारपत्र रद्द भएकाहरू युद्ध क्षेत्रमा नै छन् । उनीहरूलाई मस्को ल्याउन रुसी विदेश मन्त्रालयसँग समन्वय गरिरहेका छौं ।’
