माओवादीद्वारा सार्वजनिक लेखा समितिका सभापति पोखरेलको राजीनामा माग

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Maoists demand the resignation of Public Accounts Committee chairman Pokharel

काठमाडौँ — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललाई पदबाट राजीनामा गर्न प्रमुख प्रतिपक्षी माओवादी केन्द्रले माग गरेको छ । लेखा समितिको सोमबारको बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको नेतृत्व गरिरहेको सांसदकी पत्नी सहकारी ठगीमा संलग्न भएको र स्वयं सभापति पोखरेलमाथि नै प्रश्न उठेकाले पदबाट राजीनामा गर्न भनेका हुन् । 

सार्वजनिक रूपमा प्रश्न उठिसकेको व्यक्ति लेखा समितिको सभापति पदमा बसिरहन नमिल्ने मोदीको भनाइ थियो । 'सहकारीका बारेमा तपाईंको परिवार र तपाईंमाथि पनि प्रश्न उठिरहेको छ । सरकारका काम-कारबाहीलाई चेक एन्ड ब्यालेन्स गर्नुपर्ने समितिकै सभापतिमाथि प्रश्न उठेपछि तपाईंले केही न केही त बोल्नुपर्ने हुन्छ, जवाफ दिनुपर्ने हुन्छ,' उनले भने । 

सार्वजनिक लेखा समितिलाई सरकारको छाया बनाइएको पनि मोदीको भनाइ थियो । 'सरकारको छाया सार्वजनिक लेखा समिति त होइन भन्ने प्रश्न उठिरहेको छ । सरकारको नेतृत्व गरिरहेको पार्टीको सभापति हुनुहुन्छ । यसबारेमा पुनर्विचार गर्नुपर्ने हुन्छ । तपाईंले मार्ग प्रशस्त गरिदिए राम्रो,' उनले भने ।

संसद‍्को सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षी दलको नेतालाई दिनुपर्ने पनि मोदीको भनाइ थियो । 'तपाईंको परिवारका बारेमा प्रश्न उठेको छ । तपाईंबारे पनि प्रश्न उठेको छ । सकारको नेतृत्व गरिरहेको दलको हुनुहुन्छ र लेखा समिति प्रतिपक्षलाई दिनुपर्ने हुन्छ,' उनले भने ।

कान्तिपुर संवाददाता

Link copied successfully