लेखा समिति सभापति एमालेको इमानदार सांसद भएकाले श्रीमतीलाई लुकाएर राख्नुहुन्न : भट्टराई

पुस ८, २०८१

कान्तिपुर संवाददाता

Accounts Committee Chairman is an honest MP of UML and does not keep his wife hidden: Bhattarai

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कसले कहाँ भ्रष्टाचार र अनियमितता गरेको छ भन्ने विषयमा एकमुष्ट छलफल गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सोमबारको बैठकमा सांसद भट्टराईले बारम्बार उठिरहने भ्रष्टाचारका विषयमा संसदीय समितिमा छलफल गरेर टुंगो लगाउनुपर्ने बताएका हुन् । 

समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सहकारी ठगीमा जिल्ला अदालत मोरङबाट पक्राउ पुर्जी जारी भएको छ । कोइराला फरार रहेकी छन् । तर, भट्टराईले भने सभापति पोखरेलले आफ्नी पत्नीलाई लुकाएर राख्ने कुरा नहुने बताए । 'सभापतिले आफ्नो परिवारलाई छोपेर, लुकाएर राख्ने कुरा भएन । सभापति एमालेको प्रतिनिधि, इमानदार सदस्य र सांसद भएपछि त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन,' भट्टराईले भने, 'उहाँको श्रीमती पक्कै पनि अदालतमा हाजिर हुन जानु हुन्छ । अदालतमा आफ्नो सफाइ दिने हो । बाहिर अरूले जस्तो चिच्याउँदै, कराउँदै हिँड्ने होइन । उहाँ न्यायिक निरुपण गर्ने निकायमा जानुहुन्छ भन्ने विश्वास छ ।'

लेखा समिति सभापति प्रतिपक्षी दलको हुनुपर्ने माओवादीको माग सही नभएको पनि भट्टराईको भनाइ थियो । विगतमा संसद्का पदाधिकारी सहमतिमा नै निर्वाचित भएकाले उक्त विषय उठाउनु जायज नभएको भट्टराईको भनाइ थियो ।  

भट्टराईको भनाइमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि समर्थन जनाएका थिए । 

कान्तिपुर संवाददाता

Link copied successfully