काठमाडौँ — सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता भएको र उनको सांसद पद निलम्बनका लागि कास्की प्रहरीले सभामुखलाई पठाएको खबरदेखि साई स्वागत सहकारीका अध्यक्ष भरतमणि जंगम पक्राउ परेको खबरसम्म आज चर्चामा रहे ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको छ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनीहरूविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । त्यस्तै यही मुद्दामा लामिछानेको सांसद पद निलम्बन गर्न कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ । कास्को प्रहरीको उच्च स्रोतका अनुसार रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित लामिछानेको पद निलम्बन गर्नका लागि सभामुख देवराज घिमिरेलाई पत्र लेखेको छ ।
रवि लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता
काठमाडौमा रहेको साई स्वागत सहकारी ठगी प्रकरणमा यसका अध्यक्ष भरतमणि जंगम पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार जंगमलाई आइतबार काठमाडौंबाट पक्राउ गरिएको हो । यो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेलसमेत पहिले उपाध्यक्ष थिइन् ।
शनिबार सकिएको एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गर्न मधेशी आयोगले माग गरेको छ । एनपीएलको सफलतापूर्वक समापन भएको खुसी मनाइरहँदा हिजोको खेलमा एउटा उद्दण्ड र अराजक समूहले जनकपुर बोल्ट्सप्रति नश्लीय र साम्प्रदायिक व्यवहार देखाएको थियो ।
साई स्वागत सहकारी ठगी प्रकरणमा अध्यक्ष भरतमणि जंगम पक्राउ
कांग्रेस सांसद गगन थापादेखि अन्य नेता र मानवअधिकारकर्मीसहित मधेशी आयोगले नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गर्न माग गरेका छन् । आयोगको विज्ञप्तिमा भनिएको छ, 'एनपीएलमा जनकपुरका खेलाडीहरूका अगाडि नै अभद्र र अपमानित हुने खालका नारा-जुलुस लगाए । जुन कार्य अति निन्दनीय र कानुनविपरीतका दण्डनीय कार्य रहेको छ ।'
एनपीएलमा नश्लीय र साम्प्रदायिक व्यवहार देखाउने उद्दण्ड र अराजक समूहलाई कारबाही गरियोस् : मधेशी आयोग
