एनपीएल फाइनल : जनकपुरविरुद्ध सुदूरपश्चिमको आक्रामक ब्याटिङ, १८५ रनको लक्ष्य

पुस ६, २०८१

विनोद पाण्डे

NPL Final: Far West's aggressive batting against Janakpur, target of 185 runs

काठमाडौँ — सैफ जैब र विनोद भण्डारीको शतकीय साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा जनकपुर बोल्ट्सलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेपछि पहिला ब्याटिङ गर्ने निर्णयमा सुदूरपश्चिमले ९ विकेट गुमाई १ सय ८४ रन बनाएको हो ।

जैब र विनोदले पहिलो विकेटमा १२ ओभरमा १ सय १७ रन जोडेपछि सुदूरपश्चिमले मजबुत स्कोर बनाएको हो । जैबले ३३ बलमा अर्धशतक पूरा गर्दा सुदूरपश्चिमले पहिलो १० ओभरमा बिनाक्षति ९७ रन बनाएर आक्रामक सुरुआत गरेको थियो । १३ औं ओभरमा जैबले ६२ रनमा जीवनदान पाएका थिए । किशोर महतोको बलमा उनले लङ अनमा गरेको प्रहार शेर मल्लले क्याच छोड्न पुगेका थिए ।

सोही ओभरमा किशोरले जैबलाई ६९ रनमा आउट गरेका थिए । जैबले ४३ बल खेली ८ चौका र २ छक्का प्रहार गरे । अर्को ओभरमा ललित राजवंशीले अर्का ओपनर विनोद भण्डारीलाई बोल्ड गरे । विनोदले ३१ बल खेली १ चौका र ३ छक्कासहित ४१ रन बनाए ।

हरमित सिंह ८ बलमा १ छक्का प्रहार गर्दै १४ रनमा आउट भए । जिम्मी निसमले स्कट म्याकमुलेनलाई १४ रनमा बोल्ड गरे । उनले १२ बल खेली १ छक्का प्रहार गरेका थिए । मोहम्मद मोहसिनले एकै ओभरमा दीपेन्द्र र आरिफ शेखलाई आउट गरे । ७ बल खेलेका दीपेन्द्रलाई ९ र आरिफ १ रनमा आउट भए । स्कट कुग्लेन १० बलमा २ चौका प्रहार गरी १३ रनमा आउट भए । कुग्लेन र नरेश बुढाऐर (८) लाई किशोरले अन्तिम ओभरमा आउट गरे ।NPL Final: Far West's aggressive batting against Janakpur, target of 185 runs

किशोर र मोहसिनले ३–३ विकेट लिए । किशोरले ३ ओभरमा २५ र मोहसिनले ४ ओभरमा ४० रन खर्चे । जनकपुरका अन्य बलरहरूमाथि सुदूरपश्चिमका शीर्ष पंक्तिको ब्याटिङ हावी भए पनि ललितले ४ ओभरमा १ मेडन राख्दै १५ रनमात्र खर्चेर १ विकेट लिए । निसमले ४ ओभरमा ४४ रन खर्चिर्एर १ विकेट लिए ।

दुवै टोलीले पछिल्लो खेल खेलेको टोलीबाट कुनै खेलाडी परिवर्तन गरेका छैनन् । सुदूरपश्चिमले जनकपुरलाई क्वालिफायर १ मा र जनकपुरले कर्णाली याक्सलाई क्वालिफायर २ मा पराजित गरी फाइनलमा पुगेका थिए ।

सुदूरपश्चिमले यसै प्रतियोगितामा जनकपुरलाई दुई पटक पराजित गरि फाइनलमा पुगेको थियो । राउन्ड रोबिन लिग खेलमा सुदूरपश्चिमले जनकपुरमाथि ७२ रनको विजय हात पारेको थियो । सुदूरपश्चिमलाई १२३–९ को स्कोरमा रोके पनि जवाफमा आएको जनकपुर १२.१ ओभरमा ५१ रनमै अलआउट भएको थियो । यो स्कोर एनपीएलकै न्यून स्कोरमा रह्यो ।

जनकपुरलाई क्वालिफायर १ मा ८ विकेटले सहजै पराजित गरि सुदूरपश्चिम फाइनल पुगेको थियो । जनकपुरलाई १३९–९ को स्कोरमा रोकेपछि सुदुरपश्चिमले भेट्रान ओपनर विनोद भण्डारीको अविजित ५८ रनमा ९ बल अगाडि नै १ सय ४१ रन बनाउँदै फाइनल पुगेको थियो ।

जनकपुरले क्वालिफायर २ मा कर्णाली याक्समाथि २ विकेटको विजय हात पारी सुदूरपश्चिमसँगको फाइनल भेट पक्का गरेको थियो । न्युजिल्यान्डका अलराउन्डर जिम्मी निसमले अलराउन्ड प्रदर्शन गर्दै जनकपुरलाई फाइनलमा पुर्‍याएका थिए । उनले २ विकेट लिएपछि पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय १८ रन बनाएको थियो । निसमले १७ बलमा ४५ रन बनाएपछि जनकपुरले एक ओभरअगाडि लक्ष्य पूरा गरेको थियो ।

सुदूरपश्चिमले फाइनल पुग्ने क्रममा ८ मध्येको ७ खेल जितेको थियो । जनकपुरले ९ मध्येको ६ खेल जितेको थियो भने ३ मा पराजय भोगेको थियो, त्यसमध्येको दुई पराजय सुदूरपश्चिमसँगै थियो ।

विनोद पाण्डे पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Link copied successfully