भन्सार कर्मचारीसहित ३४ जनाविरुद्ध राजस्व चुहावट मुद्दा 

बिगो तथा जरिवानाबाट १० करोड ७२ लाख असुल उपर गरी जेल सजायसमेतको माग

पुस ५, २०८१

ऋषिराम पौड्याल

Revenue leakage case against 34 people including customs officials

काठमाडौँ — राजस्व चुहावट गराएको आरोपमा जनकपुर छोटी भन्सारका चार जना कर्मचारीसहित ३४ जनाविरुद्ध उच्च अदालत जनकपुरको अस्थायी इजालस वीरगन्जमा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान विभागकी प्रवक्ता एवं उपमहानिर्देशक कृष्ण कुमारी श्रेष्ठकी अनुसार उनीहरूबाट बिगो तथा जरिवानाबाट १० करोड ७२ लाख असुल उपर गरी जेल सजायसमेतको माग गरिएको छ ।

विभागले पथलैया राजस्व कार्यालयमार्फत दुई भारतीय नागरिक, कर्मचारी र व्यापारीविरुद्ध मुद्दा दायर गरेको हो ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले जनकपुर भन्सार अन्तर्गतको लग्मा जटही छोटी भन्सारबाट छुटेको ट्रकको सामान भौतिक परीक्षण गर्दा राजस्व चुहावट भएको फेला परेको थियो । उक्त ट्रक गत असोजमा पथलैया प्रहरीले नियन्त्रणमा लिएर राजस्व कार्यालय बुझाएको थियो ।

राजस्वले करिव तीन महिनाको अनुसन्धान पछि बुधबार मुद्दा दायर गरेको जानकारी विभागले दिएको छ । उक्त भन्सारबाट जाँच पास भएका भारतीय नम्बरका दुई वटा ट्रकमा भन्सार नतिरी आयात गरेको कुर्ता सलवारसहितका कपडा भेटिएको थियो ।

मुद्दा लगाइएका भारतीयहरूमा ट्रक चालकद्वय मधुवनी जोरलाका ३६ वर्षीय अहम्मद आलम र सुलतानपुर बररलाका ४० वर्षीय शेरबहादुर सिंह छन् । अदालतले मागेको १५–१५ लाख धरौटी बुझउन नसकेका कारण उनीहरू जेलमा छन् । 

त्यस्तै बेंसीसहर नगरपालिका–१० लमजुङका महेन्द्र गुरुङ, रुरु क्षेत्र गाउँपालिका–५ गुल्मीका रुद्र प्रसाद श्रेष्ठ एवं २५ जना भारतीय सैनिकमा निवृत्त भएका नेपालीसमेतविरुद्ध मुद्दा दायर गरिएको जानकारी विभागले विज्ञप्तिमार्फत दिएको छ ।

भारतीय सैनिकबाट निवृत्त भएपछि आफ्नो व्यक्तिगत र निश्चित मूल्यका नयाँ सामान ल्याउन पाउने सुविधको दुरुपयोग गरेर कुर्ता सलवार ल्याएको आरोप पथलैया कार्यालयले लगाएको छ ।

सामान ल्याएको ट्रकमासँगै आएका गुल्मीका रुद्रप्रसाद केहीबेरमा आउने भन्दै सम्पर्कविहीन भएका थिए । उक्त सामान उनको भएको अनुमान गरिएको छ । राजस्व स्रोतले सामान आफ्नो नभएको अवस्थामा उनी फरार भएकाले शंकाको घेरामा राखिएको जानकारी दिएको छ ।

सामान पथलैया प्रहरीले बरामद गरेर राजस्व कार्यालयमा बुझाएको थियो । बरामद गरिएको अधिकांश सामान भन्सार नतिरेको कुर्ता सलवार भएको अनुसन्धानमा खटिएका पथलैयाका कर्मचारीले बताए । 

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully