काठमाडौँ — आज पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता भएको देखि काठमाडौंबाट बाहिरिने मुख्यमार्ग नौबिसे–मुग्लिन सडक पुस ७ देखि १३ सम्म आंशिक बन्द हुनेसम्मका खबरहरु रहेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा शुक्रबार पूरक अभियोग दर्ता गरिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले थप अभियोग र बिगो दाबी गर्दै पुरक अभियोग पत्र अदालतमा पेस गरेको हो । यसअघि १९ जनाविरुद्ध २०८० असोजमा सहकारी ठगीसम्बन्धी कसुरमा मुद्दा चलाइएकोमा यसपल्ट संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा समेत मुद्दा चलाइएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् ।
जीबी राईसहित १९ जनाविरुद्ध कास्की जिल्ला अदालतमा पूरक अभियोग दर्ता
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि दिउँसोमा एक साता आंशिक बन्द हुने भएको छ । सो सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ति सुधार गर्नुपर्ने भएकाले यही पुस ७ गते देखि १३ गतेसम्म दिनको तीन घण्टा सडक बन्द गर्न लागिएको हो ।अब पोखरेभीर मोड सुधारका लागि नौबिसेबाट गजुरी छिर्ने भारी सवारीसाधन गल्छी–बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ ।
मुग्लिन–नौबिसे सडक दिउँसो बन्द हुने
महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको छ । यस खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ ।
एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो
एसियाली विकास बैंक (एडीबी)ले विभिन्न तीन परियोजना कार्यान्वयन गर्न एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ सहयोग गर्ने भएको छ । सहायता रकममध्ये छ अर्ब ५२ करोड रुपैयाँ अनुदान हो भने बाँकी रकम सहुलियतपूर्ण ऋण हो । अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऋण एवं अनुदान सहायतासम्बन्धी सम्झौतापत्रमा अर्थसचिव डा रामप्रसाद घिमिरे र एडीबीका देशीय निर्देशक आर्नो कोश्वाले हस्ताक्षर गरे ।
एडीबीद्वारा एक खर्ब पाँच अर्ब एकसट्ठी करोड सहयोग
भारतको राजधानी नयाँ दिल्लीमा नेपाल–भारत आर्थिक सम्मेलन सुरु भएको छ । शुक्रबार काठमाडौं विश्वविद्यालय अन्तर्गतको नेपाल समसामयिक अध्ययन केन्द्र र भारतको फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर (एग्रो फाउन्डेसन)द्वारा संयुक्त रुपमा सम्मेलन आयोजना गरिएको हो । परराष्ट्र मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् । सम्मेलनमा प्रमुख वक्ताका रुपमा बोल्दै नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मध्ये सबैभन्दा धेरै भारतकै रहेको स्मरण गर्दै थप लगानी विस्तारका लागि उनले आग्रह गरेकी हुन् ।
