एसीसी यू-१९ कप : बंगलादेशसँग हारेपछि नेपाल सुपर-४ बाट बाहिरियो

पुस ५, २०८१

कान्तिपुर संवाददाता

ACC U-19 Cup: After losing to Bangladesh, Nepal was eliminated from the Super-4

काठमाडौँ — महिला एसीसी यू-१९ कपमा नेपाल सुपर-४ बाट बाहरिएको छ । शुक्रबार बंगलादेशसँग ९ विकेटले पराजित भएपछि नेपाल फाइनलमा जानबाट चुकेको हो । 

नेपालले दिएको ५५ रनको लक्ष्य बंगलादेशले मात्र १ विकेट गुमाएर ९.५ ओभरमा पूरा गरेको हो । बंगलादेशका लागि फाहोमिदा चोयाले अविजित २६ रन बनाइन् । त्यस्तै मोसाम्मत इभाले १८ रन बनाउँदा सुमैया अख्त सुबोर्णले १० रन बनाइन् । नेपालका लागि कुसुम गोदारले १ विकेट लिइन् । 

मलेसियाको बायुमास ओभलमा वर्षा बाधक बनेपछि खेल ११ ओभरमा घटाइएको थियो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ११ ओभरमा आठ विकेट गुमाएर ५४ रनको योगफल बनाएको थियो ।

नेपालका लागि ओपनर सावित्री धामीले सर्वाधिक ११ रन जोडिन् । त्यस्तै कप्तान पुजा महतो नौ तथा एलिशा यादवले आठ रन बनाइन  । यस खेलमा जित हासिल गर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । 

नेपाललाई हराएसँगै सुपर फोरबाट ६ अंकसहित बंगलादेश फाइनलमा पुगिसकेको छ । त्यस्तै ७ अंकसहित भारत पनि फाइनलमा पुगिसकेको छ । 

समूह चरणको खेलमा नेपालले पाकिस्तानमाथि ऐतिहासिक जित हात पार्दै सुपर-४ मा स्थान बनाउन सफल भएको थियो । 

कान्तिपुर

Link copied successfully