भारतीय लगानीकर्तालाई नेपालमा लगानी बढाउन परराष्ट्र मन्त्री राणाको आग्रह

पुस ५, २०८१

कान्तिपुर संवाददाता

Foreign Minister Rana urges Indian investors to increase investment in Nepal

नयाँ दिल्ली — परराष्ट्र मन्त्री आरजु राणाले नेपालमा लगानी विस्तार गर्न भारतीय लगानीकर्ताहरुलाई आग्रह गरेकी छिन् ।

नेपालमा रहेको प्रत्यक्ष विदेशी लगानी (एफडीआई)मध्ये सबैभन्दा धेरै भारतकै रहेको स्मरण गर्दै थप लगानी विस्तारका लागि उनले आग्रह गरेकी हुन् ।

शुक्रबार काठमाडौं विश्वविद्यालय र भारतीय नीति आयोगद्वारा संयुक्त रुपमा नयाँ दिल्लीमा आयोजित नेपाल भारत आर्थिक सम्मेलन’मा परराष्ट्रमन्त्री राणाले अहिले नेपालमा राजनीतिक स्थिरता हुनुका साथै लगानीमैत्री वातावरणमा सुधार आएकाले लगानी विस्तार गर्न लगानीकर्तालाई आग्रह गरेकी हुन् ।

'नेपालले विदेशी लगानीका लागि आफ्नो नीति उदार बनाएको उल्लेख गर्दै मन्त्री देउवाले भारतका उद्यमीहरूलाई ऊर्जा उत्पादन, पूर्वाधार विकास, कृषि, पर्यटन, र सूचना प्रविधिमा लगानी गर्न आहृवान गर्छु,’ उनले भनिन, 'नेपालमा लगानी सुरक्षित हुने र यसले उच्च प्रतिफल दिने आश्वासन दिन चाहन्छु ।’

नेपालले विदेशी लगानी आकर्षणका लागि ‘बीबी माइनस’ रेटिङ प्राप्त गरेको र स्वदेशी तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीतिहरू लागू गरेको उनले जानकारी दिइन् । 'निजी क्षेत्रका लगानीकर्तालाई लगानीका लागि नेपालमा निम्तो दिन चाहन्छु,’ उनले थपिन् ।

नेपाल–भारत सम्बन्धलाई केवल आर्थिक मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा उनको जोड थियो । दक्षिण एशियाको क्षेत्रीय सहकार्यका लागि नेपाल–भारत सम्बन्धलाई एक उदाहरणीय अवधारणाका रूपमा विकास गर्नुपर्ने उनको भनाइ थियो ।

कान्तिपुर

Link copied successfully