धनगढीमा शेखर समूहको सुदूरपश्चिम भेला 

पुस ५, २०८१

अर्जुन शाह

The far western assemblage of the Shekhar group at Dhangadhi

धनगढी — कोशी प्रदेशबाट आफ्नो समूहको भेटघाट तथा भेला सुरु गरेको नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले शुक्रबार धनगढीमा पुगेर दिनभर सुदूरपश्चिमका नौ वटै जिल्लाका आफू पक्षधर नेताहरूसँग छलफल तथा भेटघाट गरिरहेका छन् । 

जिल्ला–जिल्लाबाट आएका नेता कार्यकर्ताहरूलाई पालैपालो गरी भेटघाट गरिरहेका कोइरालाले कार्यकर्ताहरूलाई आफूले सभापतिमा उम्मेदवारी दिने संकेत गर्दै कार्यकर्ताहरूलाई १५औं महाधिवेशनको तयारीमा जुट्न निर्देशन दिइरहेको कोइराला पक्षधर कैलालीका नेता पूर्ण कुँवरले बताए ।  

शनिबार हुने नेपाल प्रजातन्त्रिक सेनानी संघ सुदूरपश्चिमको पहिलो अधिवेशनको कार्यक्रमको अवसर पारेर धनगढी आइपुगेका वरिष्ठ नेता कोइरालाले शुक्रबार दिनभर नौवटै जिल्लाबाट आएका कार्यक्रर्ताहरूलाई भेटघाट गरिरहेका हुन् । नेताहरू सुनिल शर्मा, सञ्जय गौतम, हृदयराम थानीलगायत पनि कोइरालासँगै धनगढी आएका छन् ।

कोइराला पक्षधर नेता एवं सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य भरतबहादुर खड्काले जिल्ला र स्थानीय तहका कार्यकर्ताहरूलाई कार्यक्रममा बोलाइएको बताए । ‘महाधिवेशनकै तयारी लक्षित कार्यक्रम तथा भेटघाट हो । लुकाउनुपर्ने केही छैन,’ नेता खड्काले भने ‘शनिबार आयोजना गरिएको कार्यक्रममा सबैलाई बोलाइएको छ । को-को आउँछन् थाहा छैन ।’ शुक्रबार भइरहेको भेटघाटमा उनको समूह समर्थित नेताहरू मात्रै भेटघाटमा सहभागी रहेका छन् । 

वरिष्ठ नेता कोइरालाले कांग्रेस–एमाले गठबन्धनको वर्तमान सरकारको तत्काल विकल्प नभएको बताएका छन् । यस्तै उनले महामन्त्री थापासँग पनि आफ्नो कुनै असमझदारी नभएको प्रतिक्रिया दिए । 

अर्जुन शाह शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully