काठमाडौँ — सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले मुलुकको अहिलेको न्यायपालिका पारदर्शी रहेको बताएका छन् ।
न्यायाधीश समाज नेपाल र डब्लूडब्लूएफ (वल्ड वाइड फन्ड फर नेचर) ले आयोजना गरेको ‘न्यायपालिकाको जनआस्था अभिवृद्धिमा सञ्चारकर्मीको भूमिका’ सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रममा प्रधानन्यायाधीश सिंहले न्यायपालिका पारदर्शी भएको र निष्पक्ष रहेको बताएका हुन् ।
‘कसैले न्यायपालिका पारदर्शी छैन भन्यो त्यसमा आपत्ति छ । हामी काम गर्छौं सबै खुल्ला, पक्ष-विपक्ष, कानुन व्यवसायीको अगाडि छ,’ उनले भने, ‘त्यसमा शंका र संशय गर्ने ठाउँ छैन ।’ पारदर्शीको सवालमा अदालतले अब्बल रुपमा प्रस्तुत गर्ने प्रतिबद्धतासमेत उनले जनाए ।
निष्पक्षता न्यायपालिका र पत्रकारिताको प्राण रहेकाले यसको अधिकतम प्रयोग गरेको उनको भनाइ छ । यसैगरी न्यायपालिका निष्पक्ष रहेन भने अदालतले त्यसको भार थेग्न नसक्ने उनले सुनाए । ‘संविधानले पनि स्वतन्त्रता संस्थागत गरेको छ । हन्यायपालिकाको हकमा हामीले यसको अक्षुण्ण रुपमा प्रयोग गर्दछौं । यसमा कसैको असर र आघात पार्ने सहन सक्दैनौं,’ उनले थप भने, ‘प्रेस स्वतन्त्रता कतैबाट कुण्ठित नहुने विश्वास दिलाउन चाहन्छु । आफ्नो सीमा र मर्यादा मैले बिर्सेको छैन ।’ न्यायपालिका जनआस्थामा टिक्ने भएकाले सञ्चारमाध्यमले सत्यतथ्यमा संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
यसैगरी सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले अदालतको बोल्ने माध्यम फैसला भएको बताइन् । ‘नेपालमा मात्र नभई विश्वमा सञ्चारमाध्यमले न्यायपालिकाले कसरी न्यायसम्पादन गर्ने भनेर प्रश्न उठाइरहेको छ,’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘न्यायिक स्वतन्त्रता देखाएको कारणले दक्षिण एसियामा विधिको शासनमा अग्रस्थानमा रहेको छ ।’
साथै नेपाली समाज अविश्वास र नकारात्मकताको समस्याबाट गुज्रिरहेकाले यसलाई चिर्न सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने उल्लेख समेत गरिन् । उनले थप भनिन्, ‘अविश्वास र नकरात्मकता छ त्यसलाई विश्वास र सकरात्मक ल्याउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ ।’ न्यायपालिकामा कुनै पनि किसिमको राजनीतिक, मिडियालगायतको प्रभाव नरहने र सत्यतथ्य समाचार सम्प्रेषण गर्न डराउन नपर्ने समेत उनले स्पष्ट पारिन् ।
कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले ‘न्यायपालिकाप्रतिको जनआस्था र विश्वास वृद्धिमा सञ्चारकर्मीको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गरे ।
‘अदालतले फैसला बोल्छ तर सुन्छ कसले,’ श्रेष्ठले भने, ‘यसमा न्याय प्रणाली र सर्वसाधारणबीचको माध्यमको भूमिका सञ्चारकर्मीले गर्छ ।’ यसैगरी स्वतन्त्रता संरक्षणको लागि सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ थियो । कार्यपत्रमार्फत सञ्चारकर्मीका अपेक्षित भूमिका ल्याउन खोजिएको उनले बताए ।
विशेष अदालतका अध्यक्ष टेक नारायण कुावरले सञ्चारमाध्यमले सत्यतथ्यको आधारमा आम नागरिकलाई सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
यसैगरी डब्लूडब्लूएफका नेपाल राष्ट्रिय प्रतिनिधि घनश्याम गुरूङले डब्लूडब्लूएफ नेपालको आशा नेतृत्व, त्यसपछि न्यायपालिका र अन्तिममा सञ्चारमाध्यमसँग रहेको उल्लेख गरे ।
