सभापतिकी पत्नी सहकारी ठगी परेसम्म र कुलमान नहटेसम्म लेखा समिति बैठक बस्दैन : सांसद सिंह

पुस ४, २०८१

कान्तिपुर संवाददाता

The Audit Committee meeting will not be held until the Chairman's wife is cheated by the co-operative and Kulman is removed: MP Singh

काठमाडौँ — प्रतिनिधिसभा अन्तर्गतको महत्त्वपूर्ण समितिका रूपमा मानिँदै आएको सार्वजनिक लेखा समितिको बैठक नबोलाएकोप्रति सांसद अमरेशकुमार सिंहले आपत्ति जनाएका छन् ।

सभापति ऋषिकेश पोखरेलकी पत्नी सहकारी ठगीमा परिरहेसम्म र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउन सरकार सफल नभएसम्म लेखा समिति बैठक नबस्ने खतरा रहेको सांसद सिंहको दाबी छ । 

सार्वजनिक लेखा समितिको पछिल्लो बैठक गत भदौ ९ गते बसेको थियो । उक्त बैठकमा समिति सभापति पोखरेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको बक्यौताका सम्बन्धमा घिसिङलाई कारबाही गर्नकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायलाई लेखिपठाउने निर्णय वाचन गरेका थिए । सभापतिको उक्त निर्णयको विरुद्धमा सत्तारुढ कांग्रेससमेत उभिएपछि निर्णय हुन सकेको थिएन । भदौ ९ यता लेखा समितिको बैठक बोलाइएको छैन । 

यसैबीचमा सभापति पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगीमा संलग्न रहेको सार्वजनिक भएको थियो । सभापति पोखरेलको सक्रियतामा खुलेको मोरङको धनपालथान–३ मा सञ्चालित उमा–गौरी कृषि सहकारीको बचत अपचलनमा कोइराला संलग्न देखिएपछि मोरङ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरिसकेको छ । 

समिति सभापति पोखरेलले यी दुई कारणले लेखा समितिको बैठक नबोलाइएको सांसद सिंहले बताए । प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ​संघीय निजामती सेवाको गठन, सञ्‍चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि संशोधनकर्ताका रुपमा उपस्थित भएका सांसद सिंहले लेखा समिति कामबिहीन बनेको बताए ।

'सार्वजनिक लेखा समितिका सभापतिले कुलमानलाई हटाउन खोज्यो, हटाउन सकिएन । त्यसपछि समितिको बैठक नै बसेको छैन,' भदौ ९ को बैठकमा भएका गतिविधि उल्लेख गर्दै सिंहले भने, 'सभापतिले होटलमा लेखेको निर्णय समितिबाट पास गर्न सकेन । लेखेर निर्णय ल्याएको थियो कि कुलमानलाई कारबाही गर्नका लागि सीआईबी, सम्पत्ति सुद्धिकरण र अख्तियारलाई लेखेर पठाउने । हामीजस्तो मान्छेले त्यस्तो निर्णय गर्न दिन्छ भन्ने लागेको थियो सभापतिलाई ।'

घिसिङलाई कारबाही गर्नका लागि विभिन्न निकायमा लेखेर पठाउने निर्णय आफूहरूलाई भदौ ६ गते नै दिएको पनि सिंहले बताए । 'तीन दिन अगाडि निर्णय हातमा दिएको थियो र समिति सचिवालयको कम्प्युटर पनि प्रयोग भएको थिएन । पेनड्राइभमा ल्याएर प्रिन्ट मात्रै समितिमा गरिएको थियो,' सिंहले भने, 'त्यो निर्णय पारित गर्न नसकेदेखि लेखा समिति बन्द छ । जबसम्म कुलमान हट्दैन र जबसम्म सभापतिको श्रीमती सहकारी ठगीमा परेको छ तबसम्म लेखा समिति चल्दैन ।'

संसदीय समिति सभापतिको मनोमानीमा चलेको पनि सिंहले बताए । कानुन र अभ्यासअनुसार चल्नुपर्नेमा संसदीय समिति एक जनाको मनोमानीमा चलेको उनको भनाइ थियो । 

कान्तिपुर संवाददाता

Link copied successfully