अस्ट्रेलिया — झन्डै अढाई वर्षअघि आफ्नो कार्यकाल सक्न नपाउँदै नेपाल बोलाइएका तत्कालीन अस्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दहालले आफूले सुरु गरेका धेरै काम गर्न नपाएकोमा गुनासो पोखेका थिए । नेपाल फर्किने क्रममा दहालले राजनितिक या कूटनीतिक जस्तो नियुक्ति भए पनि राजदूतलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्न नहुने बताएका थिए ।
नेपाली राजनीतिक वृत्तमा केही फेरबदल हुनेबित्तिकै दलको पहिलो निशानामा पर्ने नै राजदूत पद बनिसकेको छ । जुन देशमा राजदूत नियुक्ति गरिने हो, त्यो देशको अध्ययन गरेको, त्यहाँका नेपाली समुदाय तथा स्थानीय आर्थिक, कूटनीतिक तथा राजनीतिका बारेमा ज्ञान भएको व्यक्तिलाई नियुक्त गरेर पठाउनेभन्दा पनि दलबीचमा बाँडफाँड गरेर राजदूत नियुक्ति दिने प्रचलन सामान्य भइसकेको छ ।
राजदूत भएर आउनेले पनि कहिले नेपालको राजनीतिक समीकरण फेरिने हो, कहिले पद खुस्किने हो र समयअगावै नेपाल फर्किन पर्ने हो त्यसैको चिन्तामा पर्नुपर्ने अवस्था सामान्य बनिसकेको छ ।
पछिल्लो राजनीतिक परिवर्तनसँगै अस्ट्रेलियाका पछिल्ला राजदूत कैलाशराज पोखरेलसमेत आफ्नो कार्यकालको आधा समय बिताउन नपाउँदै नेपाल फर्किसकेका छन् । उनले अस्ट्रेलियामा राजदूतका रूपमा नियुक्ति लिँदै गर्दा कान्तिपुरसँग आफू राजनीतिक नियुक्तिमा आए पनि कूटनीतिक अनुभव पनि भएकाले पूर्ण कार्यकालसम्मै काम गर्ने विश्वास व्यक्त गरेका थिए । तर उनको विश्वास पनि नयाँ सरकार र नयाँ समीकरण बनेसँगै २५ महिनामै टुट्यो ।
सरकारले राजनीतिक नियुक्तिअन्तर्गत नै नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवलाई यहाँका लागि नयाँ राजदूत नियुक्त गरिसकेको छ । उनको एग्रिमो स्वीकृत भइसकेर अबको केही दिनमा नै अस्ट्रेलिया आउनेछिन् । तर उनी राजदूत भएर आएसँगै यहाँ रहेका विभिन्न समस्याका चुनौती पनि सामना गर्नेछिन् ।
अस्ट्रेलियामा अध्ययनरत नेपाली विद्यार्थीका समस्या मात्र हैन कि बढ्दै गएको नेपाली बहुसांस्कृतिक समुदायसँग दूतावासको विश्वासलाई दरिलो बनाउने चुनौती यादवलाई छ । अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको दूतावासप्रतिको अविश्वास र अपेक्षालाई समयानुकूल स्थापित गर्नु उनका लागि चुनौती हुनेछ ।
विगतका तीन राजदूतको कार्यकालदेखि नै हरेक दुई वर्षमा राजदूत फेरिने संस्कारले उत्पन्न गराएको अस्थिरतालाई कूटनीतिक रूपले सम्बोधन गर्नु पनि उनका लागि चुनौती हुनेछ । त्यतिमात्र नभएर आफ्नै दूतावास भवन निर्माणका लागि जग्गा खरिद गरिएको आधा दशक भइसक्दासमेत कुनै कार्यप्रगति हुन नसकेको उक्त भवन निर्माणको सुरुवात उनका लागि चुनौती हुनेछ ।
यादवलाई अवसर पनि उत्तिकै छन् । केही वर्षअघि सम्पन्न दुई देशबीचको व्यापार सम्झौता, सचिवस्तरीय संयन्त्र तथा नेपाली विमानलाई अस्ट्रेलियाबाट उडान गर्ने तयारीलाई पूर्णता दिन सके उनले त्यसबाट जस लिने ठाउँ प्रशस्त छ ।
यसै वर्षको फेब्रुअरीमा नेपाल र अस्ट्रेलियाली सरकारबीच व्यापार सम्झौता भए पनि त्यसबाट नेपालले के फाइदा लियो भन्ने बारेमा यहाँका व्यवसायी नै अनविज्ञ छन् । नेपाल र अस्ट्रेलियाबीचमा करोडौं डलरबराबरको घाटाको व्यापार भइरहेको वर्तमान अवस्थामा राजदूत यादवलाई उक्त घाटाको व्यापारलाई सुधार गर्नका लागि कूटनीतिक पहल गर्ने अवसर पनि उपलब्ध छ ।
तर राजनीतिक नियुक्तिमा आएका अहिलेसम्मका कुनै पनि राजदूतले पूर्ण कार्यकाल बिताउन नपाएको सन्दर्भमा यादवले के गर्न सक्छिन् भन्ने विषयमा यहाँका नेपाली 'पर्ख र हेर'को मनस्थितिमा छन् ।
अस्ट्रेलियाको केन्द्रीय सरकारको मन्त्रीस्तरीय सुझाव समितिमा रहेर काम गरिसकेका सिड्नीका महेन्द्रकुमार लम्साल अस्ट्रेलियाले सुशासन र गरिबीको सूचकांकमा तल रहेका कारण अन्य देशका राजदूतको तुलनामा नेपाली राजदूतलाई हेर्ने दृष्टिकोण नै फरक हुने दाबी गर्छन् ।
उनी नेपाली राजदूतलाई उक्त कूटनीतिक विश्वास र सम्बन्धलाई सुदृढ गर्नु मुख्य चुनौती र अवसर दुवै हुने सुनाउँछन् । ‘विभिन्न कारणले गर्दा नेपाली राजदूतलाई कूटनीतिक रूपले त्यति भ्यालु नै दिएको पाइँदैन,’ लम्सालले भने, ‘नयाँ राजदूतका मुख्य चुनौती नै यही हो ।’
अस्ट्रेलियाको बढ्दो नेपाली जनसंख्या, उनीहरूको समस्या र समाधानका लागि अपेक्षा पनि अर्को चुनौती रहेको उनको भनाइ छ । उनी दूतावास र नयाँ राजदूतले यहाँ राजनीतिक र आर्थिक रूपमा राम्रो हैसियत बनाएका नेपालीलाई अघि बढाएर काम गर्न सुझाव दिन्छन् । अस्ट्रेलिया ‘पिपुल आर बिजनेस’ भन्ने मानसिकताबाट अघि बढेकाले झन्डै २ लाखभन्दा बढीको संख्यामा रहेका नेपालीलाई पनि यसै मनस्थितिमा लिनुपर्ने बताउँछन् ।
‘यहाँका नेपालीको दूतावासप्रतिको आशा र विस्वासमात्र नभएर यहाँस्थित सरकारको कूटनीतिक विश्वासलाई अझ दरिलो र सुदृढ पार्नु राजदूतलाई अवसर र चुनौती दुवै हुनेछ ।’
अस्ट्रेलियामा रहेका पत्रकारको साझा संगठन एञ्जाका अध्यक्ष चिरञ्जीवी देवकोटा राजदूतले स्थायित्व दिने र आफ्नो ज्ञान र अनुभवका आधारमा प्रभावकारी काम गर्नुपर्ने सुनाउँछन् । उनी अस्ट्रेलिया तथा नेपालबीचमा कूटनीतिक, राजनीतिक र व्यापारिक रूपमा अझ धेरै काम गर्न सकिने भए पनि नेपाली राजदूत पदको अस्थिरता नै यहाँ आउने राजदूतको मुख्य समस्या रहेको सुनाउँछन् ।
अस्ट्रेलियामा सन २००८ देखि अहिलेसम्म ५ जना नेपाली राजदूत बनिसकेका छन् । जसमा सन २०१२ मा कूटनीतिक तहमा राजदूतको जिम्मेवारी सम्हाल्न आएका रुद्रकुमार नेपालले मात्र आफ्नो पूर्ण कार्यकाल बिताउन पाए । नेपालअघिका राजदूत योगेन्द्र ढकालले ३ वर्षभन्दा बढी कार्यकाल पूरा गरेका थिए । तर, त्यसबाहेक सन २०१७ देखि राजनीतिक नियुक्तिका रूपमा अस्ट्रेलिया आएका नेपाली राजदूतहरू कसैले आफ्नो दुईवर्षे कार्यकाल सक्न पाएनन् ।
शेर्पा तथा दहालले १९ महिना मात्र राजदूतको जिम्मेवारी सम्हाल्न पाए भने अहिलेका राजदूत पोखरेलले समेत करिब दुई वर्षमै बिदा लिए । यहाँका नेपालीले कूटनीतिक नियुक्ति दिन र यदि राजनीतिक नियुक्ति नै दिए पनि पूर्ण कार्यकाल काम गर्न दिनुपर्ने आवाज लामो समयदेखि उठाउँदै आएका छन् ।
