विराटनगर — नेकपा माओवादी केन्द्र कोशी संसदीय दलले मोरङको धनपालथान गाउँपालिका, कर्सियाको उमागौरी सहकारी संस्था ठगी प्रकरणलाई निष्पक्ष अनुसन्धान आवश्यक रहेको भन्दै त्यसका लागि संघीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले राजीनामा दिनु पर्ने बताएको छ ।
संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै सहकारी ठगीमा संघीय संसद्को सार्वजनिक लेखा समितिको सभापति पोखरेल पत्नी प्रत्यक्ष संलग्न रहेको र उनी सत्तामा भएकै कारण ठगी छानबिन प्रभावित हुन पुगेको दाबी आङ्बोको छ । उनले भने,‘निष्पक्ष अनुसन्धानका लागि पोखरेलको राजीनामा गर्नुको विकल्प छैन ।’
सरकारलाई वित्तीय अनुशासनमा राख्ने निकायको प्रमुखकै पत्नी सहकारी ठगीमा मुछिएको विषय सामान्य नभएको दाबी गर्दै आङ्बोले थपे,‘यो गम्भीर विषय हो । पोखरेलले तत्काल राजीनामा दिएर अनुसन्धानका लागि सघाउनुपर्छ ।’
उमागौरी सहकारी प्रकरणमा पोखरेल पत्नी अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मंगलबार मोरङ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । अञ्जलासहित २५ जना फरार छन् । अन्जलालाई प्रहरीकै मिलेमतोमा भगाइएको आरोप समेत लगाइएको छ । सहकारी ठगीमा संलग्नता देखिएमा झुण्डिन तयार रहेको अभिव्यक्ति दिएका पोखरेले पत्नीलाई पक्राउ पुर्जी जारी भएपछि भने मौन छन् ।
