काठमाडौँ — मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले सडक सुधारको नाममा विश्वविद्यालयको पठनपाठनमै असर पर्ने भएकाले थानकोट–चित्लाङ्ग सडक बन्द नगर्न आग्रह गरेको छ । विश्वविद्यालयका अध्यक्ष प्राध्यापक राजेन्द्रध्वज जोशीले बिहीबार विज्ञप्ति जारी गर्दै सडक बन्द गरिएमा यस विश्वविद्यालयको शैक्षिक तालिका (क्यालेन्डर) कार्यान्वयन हुन नसक्ने उल्लेख गरेका छन् ।
'विश्वविद्यालयको शैक्षिक तालिका कार्यान्वयन उच्च शिक्षा क्षेत्रको राष्ट्रिय प्राथमिकताको विषय हो । उच्च शिक्षाका लागि ठूलो संख्यामा विद्यार्थीहरू बाहिरिनुका कारणहरूमध्ये एउटा प्रमुख कारण विश्वविद्यालयहरूले शैक्षिक तालिका पूर्ण रूपमा कार्यान्वयन गर्न नसक्नु रहेको छ ।
उच्च शिक्षाका लागि विद्यार्थी बाहिरिँदा नेपालको ठूलो धनराशि विदेसिनाका साथै धैरै प्रतिभावान युवालाई गुमाउनु पर्दा नेपालको विकासमा ठूलो नकारात्मक प्रभाव परेको छ । त्यसकारण यस विश्वविद्यालयलाई शैक्षिक तालिका कार्यान्वयन गर्न सघाउनको लागि विश्वविद्यालयका विद्यार्थी, शिक्षक, कर्मचारी र सरोकारवालाहरूको तर्फबाट सम्पूर्ण जनसमुदायलाई हार्दिक अनुरोध गर्दछु,' प्राध्यापक जोशीको विज्ञप्तिमा छ ।
सडक बन्द हुँदा विश्वविद्यालयमा अध्ययन–अध्यापन सञ्चालन हुन नसक्ने भएकोले सडक बन्द गर्ने योजनाबारे जानकारी प्राप्त हुनासाथ विश्वविद्यालयको प्रतिनिधिले काठमाडौं सडक डिभिजन, काठमाडौं जिल्ला प्रशासन कार्यालय, चन्द्रागिरी नगरपालिका, थाहा नगरपालिकामा सम्पर्क राखी सडक बन्द भएमा विश्वविद्यालय सञ्चालन हुन नसक्ने व्यहोरा जानकारी गराइएको थियो ।
'काठमाडौं सडक डिभिजन कार्यालयले विश्वविद्यालयको चिन्तालाई गहन रूपमा नलिएको महशूस भएकोले मंसिर २८, २०८१ मा विश्वविद्यालयले काठमाडौं सडक डिभिजनलाई विश्वविद्यालय नियमितरुपमा सञ्चालन गर्न आवश्यक व्यवस्थाका लागि अनुरोध गरिएको थियो', प्राध्यापक जोशीले भनेका छन्,'सडक विभागको भएको परामर्श बैठकमा सहभागी भएका विश्वविद्यालयका प्रतिनिधिलाई सो पत्रको मर्म बुझ्न सडक डिभिजनबाट प्रयत्नसम्म पनि नभएको महसुस भयो । परामर्श बैठक प्रतिनिधिमूलक थिएन । सडक बन्द गर्ने जस्तो संवेदनशील विषयमा सडक बन्द गर्दा पर्ने प्रभाव र वैकल्पिक उपायहरुको समेतको गहन विश्लेषण बिना विश्वविद्यालयको असहमतिका बाबजुद सडक बन्द गर्न सिफारिस गर्ने निर्णय बैठकबाट गराइयो । बैठकको प्रकृति हेर्दा रीत पुर्याउँदा मात्र बैठक आयोजना गरिएको स्पष्ट देखिन्थ्यो ।'
