एकीकृत खानेपानीको समस्या समाधान गर्ने जिम्मेवारी मन्त्रालयले लिन्छ : खानेपानीमन्त्री यादव

पुस ३, २०८१

ज्योती श्रेष्ठ

The Ministry takes the responsibility of solving the problem of integrated water supply: Minister of Water Supply Yadav

काभ्रे — खानेपानी मन्त्री प्रदीप यादवले काभ्रेको बनेपा, पनौती र धुलिखेलमा सञ्चालन गर्न लागिएको एकीकृत खानेपानी व्यवस्थापनका समस्या समाधान गर्ने जिम्मा खानेपानी मन्त्रालयले लिने बताएका छन् ।

अन्तिम चरणमा पुगेको एकीकृत खानेपानी परियोजनामा असोज दोस्रो साता आएको बाढी/पहिरोले क्षति पुर्‍याएपछि यसको पुनर्निर्माण र व्यवस्थापन कसरी गर्नै भन्ने अन्योलका बीच मन्त्री यादवले यस्तो बताएका हुन् ।  

बुधबार जिल्ला विपद् व्यवस्थापन समिति काभ्रेले आयोजना गरेको विपद् जोखिम न्यूनीकरण र विपद् व्यवस्थापनमा सिकाइ तथा आगामी कार्य योजना कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले विपद्‌बाट क्षति पुगेका खानेपानीको परियोजनाहरू समयमै सम्पन्न गराउनका आफूहरू प्रतिबद्ध रहेको पनि बताउँदै त्यसका कार्यविधि बनिरहेको बताए ।  

कार्यक्रममा मन्त्री यादवले जलवायु परिवर्तनको असर खानेपानीमा परेको बताउँदै भने, ‘हिमालहरू कला पत्थरको रूपमा परिणत भएका छन्, यसैको प्रभावमा पानीका मुहानहरू पनि सुक्दै गएको अवस्था छ, तराईमा पनि पानीको अभाव भएको अवस्था छ ।’

विपद्‌ उद्धारमा भएका कार्यहरू, सिकाइ सुधार, पुनःनिर्माण, पुनःस्थापना कसरी गर्ने भन्नेलगायत विविध विषयमा विपद् जोखिम न्यूनीकरण र विपद व्यवस्थापनमा सिकाइ तथा आगामी कार्य योजना कार्यशाला गोष्ठीको आयोजना गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । बुधबारदेखि तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा जिल्लाका १३ वटा स्थानीय तहका प्रतिनिधिहरूले विपद्‍मा गरिएको प्रतिकार्य, चुनौती, पुर्निर्माणका लागि पालिकाले तयार गरेको योजनाका बारेमा कार्य पत्र प्रस्तुत गर्नेछन् । 

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully