'महिलालाई निजामती सेवामा ४० वर्षसम्म प्रवेश पाउने अधिकार दिएको थियो, कसरी ३७ वर्षमा झर्यो ?'
काठमाडौँ — निजामती विधेयक महिलामैत्री नभएको भन्दै कांग्रेस सांसदले आपत्ति जनाएकी छैन । सेवा प्रवेशको उमेर घटाउनेदेखि महिला विकास अधिकृतको पदोन्नतिको उचित व्यवस्था नभएकाले संघीय निजामती सेवा विधेयक महिलामैत्री नभएको कांग्रेस सांसद रमा कोइरालाले आपत्ति जनाएकी हुन् ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्न संशोधनकर्ताका रूपमा उपस्थित भएकी सांसद कोइरालाले यसअघि महिलाले निजमती सेवामा प्रवेश पाउने उमेर ४० रहेकोमा हाल घटाइएको भन्दै आपत्ति जनाएकी हुन् ।
उनले भनिन्, 'संघीय निजामती सेवा विधेयक जसरी आएको छ यो महिलामैत्री छैन । आजको संविधानले १ तिहाई महिला निजामती सेवामा प्रवेश गर्न पाउने अधिकार दिएको छ र १ तिहाइ महिला निजामती सेवामा प्रवेश गर्दैछन् । उनीहरू प्रवेश गरिरहेको अवस्थामा विधेयक भने महिलामैत्री आएको छैन कि लागेको छ ।'
महिला विकास अधिकृत माथिल्लो पदमा जाने व्यवस्था नरहेको कुरालाई नजरअन्दाज गरिएको सांसद कोइरालाको भनाइ थियो । उनले महिला विकास अधिकृतलाई माथिल्लो पदमा जाने कानुनी व्यवस्था खुलाउनुपर्ने बताइन् ।
निजामती सेवामा प्रवेशको उमेर सीमा घटाएकोप्रति पनि सांसद कोइरालाले आपत्ति जनाइन् । हाल महिला ४० वर्ष र पुरुष ३५ वर्षसम्म निजामती सेवामा प्रवेश गर्न पाउने कानुनी व्यवस्था छ । विधेयकमा महिला ३७ र पुरुष ३२ वर्षमा सेवा प्रवेश गर्न पाउने भन्ने प्रस्ताव गरिएको छ । सांसद कोइरालाले सोधिन्, '४० वर्षसम्म प्रवेश पाउने अधिकार दिएको थियो, कसरी ३७ वर्षमा झर्यो ? महिलाको लागि ४० वर्ष अहिले पनि राख्नुपर्छ र हुनुपर्छ भन्ने कुरा राख्न चाहन्छु ।'
त्यस्तै, निजामती कर्मचारीमा ट्रेड युनियन हटाउन नहुने पनि सांसद कोइरालाको भनाइ थियो । ट्रेड युनियन खारेज गर्दा मुलुकको राष्ट्रिय प्रतिष्ठामा आँच आउने सांसद कोइरालाको भनाइ थियो ।
