पाल्पा — गृहमन्त्री रमेश लेखकले अपराध गर्ने जोसुकै कानुनी दायरामा आउने बताएका छन् । पूर्वगृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै उनले जोसुकैले अपराध गरेको छ भने कानुनबमोजिम अनुसन्धान हुने बताए ।
इलाका प्रशासन कार्यालय पाल्पा रामपुरको नवनिर्मित भवनको बुधबार रामपुरमा उद्घाटन गर्दै उनले भने, ‘अनुसन्धानको दायरामा ल्याउनलाई को ठूलो वा सानो मान्छे भन्ने हुँदैन । जोसुकैलाई अनुसन्धानको दायरामा ल्याइन्छ ।’
राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले गृहमन्त्रीलाई लक्षित गर्दै पूर्वगृहमन्त्रीलाई यता र उता डुलाउने काम भएको भन्ने आरोप लगाएपछि गृहमन्त्री लेखकले जवाफ दिएका थिए । उनले मान्छे सानो छ वा ठूलो छ भन्ने भन्दा पनि कुनै गैरकानुनी काम भएको छ भने जतिसुकै ठूलो मान्छे भए पनि अनुसन्धानमा जानुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले भ्रष्टाचार समाप्त गरेर सुशासन कायम गर्न सरकार बनेको दाबी गरे ।
उनले शान्ति, सुरक्षालाई पूर्णरुपमा कार्यान्वयन गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको समेत बताए । उनले यदि शान्ति सुरक्षा र अमनचयन भएन भने विकास निर्माणदेखि लिएर सबै क्षेत्रलाई असर गर्नेसमेत बताए । उनले शान्ति, सुरक्षालाई पूर्ण रुपले कार्यान्वयन गर्न प्रतिबद्ध भएको भन्दै शान्ति, सुरक्षाको सेवा र लोकतन्त्रसम्म पनि सम्बन्ध रहेको बताए । ‘विधिको शासन भएन भने विधिवत् शासन संचालन हुन सक्दैन,’ उनले भने, ‘त्यसैले पहिलो सर्त भनेकै शान्ति, सुरक्षा हो ।’
सदरमुकाम तानसेनदेखि ७० किलोमिटर पूर्वको रामपुर नगरपालिकामा इप्रका ८ वर्षदेखि भाडाको भवनमा साँघुरो कोठाबाट सेवा प्रवाह गर्दै आएको थियो । गृहमन्त्री लेखकले इप्रकाबाट राहदानी सेवा र राष्ट्रिय परिचयपत्रको समेत सेवा शुभारम्भ गरे ।
कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कर्मचारी अभावका साथै कुनै पनि सामग्रीको अभावले नरोकिने बताए । नागरिकलाई सरल र सहज ढंगले सेवा प्रदान गर्न आवश्यक कर्मचारी पठाएर सेवा अवरुद्ध नहुने वातावरण नहुने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाए ।
प्रतिनिधिसभा सदस्य नारायण आचार्यले रामपुर क्षेत्रको विकासका लागि इलाका प्रशासन कार्यालयसँगै इलाका प्रहरी कार्यालयमा प्रहरी नायव उपरीक्षकको दरबन्दीको माग गरे । राष्ट्रिय सभा सदस्य राजेन्द्रलक्ष्मी गैरेले कालीगण्डकी करिडोर सडकसँगै रामपुर क्षेत्रमा बसाइँसराई गरेर आउनेको संख्या बढेकाले सेवा सुविधा थप्दै लानुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेशसभा सदस्य राजु श्रेष्ठले रामपुर क्षेत्रलाई रोल्पासम्म जोड्ने गरी सडक निर्माण अघि बढेको र यस क्षेत्रका नागरिकलाई धेरैभन्दा धेरै सुविधा दिन लागि परेको बताए ।
प्रदेश सांसद वीरबहादुर रानाले भवनबाट सेवा प्रभावकारी बनाउनुपर्ने र नागरिकले सेवा सुविधा नपाएको गुनासो सुन्न नपर्ने अवस्था आउनुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्ला समन्वय समितिको अधिकारका विषयमा संघीय सरकारले बेलैमा सोच्नुपर्नेमा जोड दिए । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रामपुर नगरपालिका, निस्दी र पूर्वखोलाका नागरिकलाई राहदानीका साथै राष्ट्रिय परिचयपत्र वितरण हुँदा ७० किलोमिटर टाढाको सदरमुकाम धाउन नपर्ने बताए ।
१४ कोठा सहितको साढे २ तले भवन निर्माण भएपछि त्यहींबाट गत साउनदेखि सेवा दिन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताए । चार करोड ६८ लाख ६८ हजार ८ सय ५३ रुपैयाँ लागतमा निर्माण कम्पनीले गत असार २२ मा भवन निर्माण सकेको थियो ।
त्यस अवसरमा समयमै भवन निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायी पुरुषोत्तम केसीलाई समेत सम्मान गरिएको थियो ।
