रहेनन् महानगरका ‘मुख्य कुचीकार’

काठमाडौंलाई नगरबाट महानगर बनाउने पूर्वमेयर पीएल सिंहको ८८ वर्षको उमेरमा निधन

पुस २, २०८१

राजेश मिश्र

The ”main Kuchikar” of the metropolis is no longer.

काठमाडौँ — काठमाडौंको मेयर रहँदा उनी भन्ने गर्थे, ‘म यो सहरको मुख्य कुचीकार हुँ ।’ २०४६ पछिको पहिलो स्थानीय निर्वाचनमा ‘स्वच्छ हराभरा काठमाडौं’ को नारा दिएर मेयर बनेका पीएल (प्रेमलाल) सिंहले हरियाली र सरसफाइलाई पहिलो प्राथमिकतामा राखेका थिए ।

त्यसैले सफाइकर्मीको प्रमुखका रूपमा सार्वजनिक रूपमै चिनाउन आफू ‘मुख्य कुचीकार’ भएको बताउँथे । महानगरका उनै कुचीकारको ८८ वर्षको उमेरमा सोमबार निधन भएको छ । 

कांग्रेस नेता एवं जनआन्दोलन २०४६ का कमान्डर स्वर्गीय गणेशमान सिंहका ‘धर्मपुत्र/राजनीतिकपुत्र’ का रूपमा चिनिएका सिंह २०४९ मा काठमाडौंको मेयरमा निर्वाचित भएका थिए । उनैले नै काठमाडौंलाई महानगर घोषणा गराएका हुन् । काठमाडौंलाई नगरबाट महानगर बनाउन उनले निकै ठूलो राजनीतिक संघर्ष गर्नुपरेको थियो । उनको प्राथमिकता थियो– काठमाडौंलाई अन्तर्राष्ट्रियस्तरको सहर 

बनाउने । ‘त्यसैले काठमाडौं र विभिन्न देशका नगरबीच भगिनी सम्बन्ध स्थापित गर्ने कामको थालनी पनि पीएलबाटै भएको थियो,’ उनी मेयर हुँदा सल्लाहकार रहेका कांग्रेस नेता भीमसेनदास प्रधान भन्छन् ।

प्रधानका अनुसार सिंहले काठमाडौंलाई अन्तर्राष्ट्रियस्तरको विकसित सहर बनाउनकै लागि एसियाली विकास बैंक (एडीबी) बाट एक प्रतिशत ब्याजदरमा २० मिलियन डलर ऋण ल्याएका थिए । 

‘विकासका लागि स्रोत चाहिन्थ्यो, धेरैतिरबाट स्रोतको जोहो गर्न उहाँले प्रयत्न गर्नु भएको थियो,’ प्रधान सुनाउँछन्, ‘तर दुर्भाग्य नै भन्नुपर्छ कांग्रेसले उहाँलाई दोस्रो पटक मेयरको टिकट नै दिएन ।’ पार्टीमा गिरिजाप्रसाद कोइरालाको हालीमुहाली भएका बेला उनी दोस्रो पटक मेयरको टिकटबाट वञ्चित भएका थिए ।

२०४८ को आमनिर्वाचनमा गणेशमान सिंहकी पत्नी मंगलादेवी सिंह र पुत्र प्रकाशमान सिंहले पराजय भोग्नुपरेको थियो । त्यस परिस्थितिमा पनि काठमाडौंको मेयरमा पीएल सिंहले जितेका थिए । प्रधानका अनुसार पार्टीभित्र गिरिजाप्रसादसँगको लडाइँका कारण त्यतिबेला गणेशमान भन्थे, ‘अब पीएल हार्‍यो भने मेरो वानप्रस्थ नै हुन्छ ।’ 

पछि २०५६ को आमनिर्वाचनमा तत्कालीन काठमाडौं ४ बाट टिकट पाएका सिंहले पद्मरत्न तुलाधरलाई हराउँदै प्रतिनिधिसभामा प्रवेश गरेका थिए । शेरबहादुर देउवाको मन्त्रिपरिषद्मा १४ महिना जनसंख्या तथा वातावरणमन्त्री भएका थिए । उनी आजीवन अविवाहित रहे । अविवाहित व्यक्तिलाई जनसंख्या मन्त्रालयको जिम्मेवारी भन्दै उनी हँसाइरहन्थे । ‘ख्यालठट्टा गर्ने शैलीमा उहाँले त्यस्तो भन्नुहुन्थ्यो,’ प्रधान भन्छन्, ‘उहाँको इच्छा थियो– परराष्ट्र मन्त्रालयमा जाने, तर पार्टीभित्रको आन्तरिक द्वन्द्वले त्यो पूरा भएन ।’ गिरिजाप्रसाद कोइरालाले गरेका कतिपय निर्णयको तीव्र आलोचक बन्दै गएपछि उनी क्रमशः पार्टीको राजनीतिबाट किनारामा पुर्‍याइएका थिए । कोइरालासँग ‘ठाकठुक’ परेपछि पार्टी सदस्यबाट राजीनामा नै दिन पुगेका थिए ।

२०४७ को संविधानप्रति पीएलको विशेष लगाव थियो । २०६२/६३ को परिवर्तनलाई उनले सहर्ष स्विकारेका थिएनन् । त्यसैले पुनःस्थापित संसद्मा उनले प्रवेश नै गरेनन् । कृष्णप्रसाद भट्टराई र उनी पुनःस्थापित संसद्मा प्रवेश नगर्ने दुई जना व्यक्ति थिए । दुवै जना पुनःस्थापित संसद्मा शपथ लिनै गएनन् । भट्टराईसँग उनको अगाध प्रेम थियो । अविवाहित र ख्यालठट्टा गरिरहने दुवै नेताबीच समानता थियो । पीएल कृष्णप्रसाद भट्टराई प्रतिष्ठानको अध्यक्षसमेत रहे । पीएलका लागि गणेशमान पिताबराबर थिए भने भट्टराई आदरणीय नेता । पीएल काठमाडौंको नरदेवीमा जन्मिएका थिए । उनका पिता चन्द्रलाल सिंह प्रसिद्ध कम्पाउन्डर थिए ।

नेपाल छात्र संघको केन्द्रीय सदस्य हुँदै राजनीति थालेका पीएल कांग्रेसले २०४२ मा चलाएको सत्याग्रह आन्दोलनको प्रवक्ता थिए । नारायणहिटी दरबारनजिक भएको बमकाण्डलगत्तै उनले आन्दोलन हिंसात्मक हुन नसक्ने भन्दै सत्याग्रह नै रोकाएका थिए । २०४६ को जनआन्दोलनमा अन्तर्राष्ट्रिय समुदायको समर्थन बटुल्न तथा अन्तर्राष्ट्रिय मिडियासँग समन्वय गर्न प्रमुख भूमिका खेलेका थिए । 

राजा महेन्द्रले २०१७ पुस १ मा गरेको ‘कु’ पछि गणेशमान सिंह सुन्दरीजल जेल पुर्‍याइएका थिए । संकटको त्यो स्थितिमा उनको परिवारलाई साथ दिने युवा व्यक्ति थिए– पीएल । त्यतिबेला उनी १७/१८ वर्षका थिए । गणेशमान परिवारको हेरचाहको जिम्मेवारी पीएलकै काँधमा आएको थियो । गणेशमान पत्नी मंगलादेवी सिंह पनि जेलमा थिइन् । गणेशमानका छोरा प्रदीप, प्रकाशमान र तीन छोरी सबै बच्चाबच्ची नै थिए । प्रदीप ७ र प्रकाशमान ५ वर्षका थिए । त्यो स्थितिमा पीएल गणेशमान परिवारको सहारा भएका थिए । ‘नारी संघर्षका पाइलाहरू’ पुस्तकमा मंगलादेवीले लेखेकी छन्, ‘प्रदीपमान, प्रकाशमान, रीता, कान्ता र मीतालाई स्कुल भर्ना, पढाउन वा खुवाउन पीएलले कहिले झिँझो मानेनन्, पीएलले हाम्रा लागि केसम्म गरेनन् ?’ 

‘पीएल नभइदिएको भए हामीलाई धेरै गाह्रो हुन्थ्यो,’ हाल उपप्रधानमन्त्रीसमेत रहेका गणेशमानपुत्र प्रकाशमान सम्झन्छन् । ‘हाम्रो परिवारलाई मात्र होइन, डेमोक्रेसीकै लागि ठूलो योगदान पुर्‍याएको व्यक्तित्व हो उहाँ,’ सिंहले भनेका छन् ।

गणेशमानको निधनपछि चाक्सीबारी छाडेर सिंह आफ्ना भाइ इन्द्रलालसँग बस्न थालेका थिए । तर, बिरामी हुन थालेपछि प्रकाशमानले उनलाई चाक्सीबारीमै ल्याएर राखेका थिए । ‘पीएल दाइको जीवनको ७०/८० प्रतिशत समय चाक्सीबारीमै बितेको हो,’ प्रधान भन्छन्, ‘चाक्सीबारी निवाससँग उहाँको ठूलो अट्याचमेन्ट थियो । अन्तिम बिदाइ यहींबाट हुने उहाँको इच्छा पनि थियो ।’ 

काठमाडौंको भीमसेनस्थानस्थित किंकेश्वरी मन्दिरसँगै लखतीर्थमा उनको अन्त्येष्टि गरिएको छ । भाइ इन्द्रलालले दागबत्ती दिएका थिए । 

राजेश मिश्र दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully