ललितपुर नगर प्रहरीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने : तपाईंहरूले गरिबका टमाटर फालेको देखेको छैन

पुस २, २०८१

कान्तिपुर संवाददाता

Praising the Lalitpur city police, Prime Minister Oli said: You have not seen tomatoes thrown by the poor

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यकोषबाट पारिश्रमिक लिने जनप्रतिनिधि र कर्मचारी जनताको सेवक हुनुपर्ने बताएका छन् । ललितपुर महानगरपालिकाको १०६औं स्थापना दिवसमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हाकिम हुँ भन्ने प्रवृत्ति कसैमा पनि हुन नहुने बताएका हुन् । 

'राज्यकोषबाट पारिश्रमिक लिने सबै जनताका सेवक हो, राष्ट्र सेवक हो । जनताको प्रतिनिधि हुँ । देश र जनताको सेवक हुँ, देश र जनताको संवर्द्धन गर्ने काम म छाड्दिनँ भन्ने भावना हुनुपर्छ । जनप्रतिनिधि होस् वा कर्मचारी हुन् हाकिम हुँ भन्ने प्रवृत्ति हुनु हुँदैन । घमण्ड हुनु हुँदैन । मस्तिष्कमा घमण्ड पसेपछि राम्रो चिज केही पनि पस्न पाउँदैन,' प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरीको कामको समेत प्रशंसा गरे । कार्यक्रममा ललितपुर नगर प्रहरी सम्मानित भएकोमा धन्यवाद दिँदै प्रधानमन्त्री ओलीले कहिल्यै पनि जनतालाई दु:ख दिने काम गर्न नहुने बताए । 'ललितपुर नगरी प्रहरीले गुर्र जिपमा कुदेर अर्कै लोकको केही आएझैं कुदेर आयो, झ्याप्प गाडी रोकेर गन्द्र्याङगन्द्र्याङ फाल हानेर पिरपिर सिट्ठी बजाउँदै आतंक छाउँदै यता फाल्दै उता फाल्दै ठेला फाल्दै अर्को चिज गर्दै गरिबका तरकारी टमाटर फाल्दै त्यस्तो गरेको मैले देखेको छैन । म ललितपुर नगर प्रहरीलाई धन्यवाद दिन चाहन्छु  । तपाईंहरू आतंकको पर्याय होइन । तपाईंहरूबाट जनताले सुरक्षित महसुस गर्नुपर्दछ । तपाईंहरूलाई देख्दा जनताले हाम्रा रक्षकहरू आए भन्ने ठान्नुपर्दछ ।  लौ आयो कता भागौँ भन्ने स्थिति हुनुहुन्न,' प्रधानमन्त्री ओलीले भने । 

त्यस्तै प्रधानमन्त्री ओलीले सरकार अभिभावकजस्तो भएर प्रस्तुत भएको पनि बताए । उनले भने, 'सक्नेले खाउ नसक्ने मर भन्ने होइन । नसक्नेका लागि सरकार छ भन्ने त्यस्तो सरकार बनेको छ अहिले । पहिलेको जस्तो कर उठाउनका लागि मात्र होइन । सरकारका सबै तहहरू जनताको सेवाका लागि बनेका छन् ।'

कान्तिपुर

Link copied successfully