आर्थिक अपराध, रकम अपचलन र वित्तीय अपराधलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको मन्त्रीको दाबी
बुटवल — गृहमन्त्री रमेश लेखकले शासन भीडले नभई कानुनले चल्ने बताएका छन् । त्यस्तो भीड नियन्त्रण गर्ने दायित्व सुरक्षा निकायकै भएको पनि उनले बताए ।
गृहमन्त्री लेखकले पछिललो समय साइबर क्राइम बढेको, भीडले सत्ता चलाउने प्रयास हुन थालेको बताउँदै यसलाई पनि नियन्त्रण गर्न निर्देशन दिए । पछिल्लो समय आर्थिक र वित्तीय अपराध बढेको, ठगीका घटना बढेको, रकम अपचलनमा लिप्त हुनेहरू संगठित हुन थालेको र त्यसलाई भीडले ढाकछोप गर्ने प्रयास भइरहेको बताए । ‘सत्ता चलाउने कानुनले हो, भीडले होइन,’ उनले भने, ‘पछिल्ला दिनहरूमा प्रहरी कार्यालय, सरकारी वकिल कार्यालय, अदालत लगायतका स्थानहरूमा भीडले प्रभावित गर्ने प्रयास भइरहेको छ । त्यो नियन्त्रण हुनै पर्छ,’ उनले भने, ‘यस्तो समाजलाई दुषित गारउने तत्वको संरक्षण कुनै पनि अवस्थमा स्वीकार्य हुँदैन् ।’
संविधानको सुरक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्छ, त्यसका लागि पनि यस्ता गोष्ठी महत्त्वपूर्ण हुने उनले बताए । उनले शान्ति सुरक्षा खलबलिने वित्तिकै मौलिक हकहरू गुम्ने भएकाले लोकतन्त्रको पूर्वसर्त नै शान्तिसुरक्षा रहेको बताए । उनले संविधानको सही कार्यान्वयनका लागि शान्ति सुरक्षा नै प्रमुख सवाल हुने भएकाले यसतर्फ ध्यान दिन आग्रह गरे ।
गृहमन्त्री लेखकले शान्ति, सुशासन, विकास र समृद्विका लागि पनि शान्तिसुरक्षा अनिवार्य सर्त रहेको बताए । सीमा क्षेत्रको तस्करी र राजश्व चुहावट रोक्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृह मन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा मंगलबारदेखि भैरहवामा सुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सिमानामा भइरहेका अपराध, तस्करी, राजस्व चुहावट रोक्न निर्देशन गरेका हुन् । अहिले पनि सीमा क्षेत्रमा राजश्व चुहावट र तस्करी बढेको सुचना मन्त्रालयसम्मै आइरहेको उनले बताए । ‘क्रसबोर्डर अपराध भइरहेको छ, तस्करी मौलाएको र राजस्व चुहावट भइरहेको सुचना आइरहेका छन्,’ उनले भने, ‘आजको यो सुरक्षा गोष्ठी सकिएपछि यस्तो गुनासो सुन्न नपरोस ।’ उनले गोष्ठी सकिएपछि पनि राजश्व चुहावट र तस्करी नियन्त्रण हुन नसकेका गुनासा बढेको अवस्थमा सीमा क्षेत्रका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरूलाई स्थानान्तरण गर्ने प्रक्रियामा सरकार लाग्ने बताए ।
गृहमन्त्री लेखकले सरकार र मन्त्री परिवर्तनको हल्ला अस्थिरता चाहाने कारखानाबाट उत्पादित टिप्पणी र हल्ला मात्र भएको स्पष्ट पारे । संविधानको रक्षा र लोकतन्त्रको सुदृढीकरणका लागि नै कांग्रेस एमालेको समीकरण बनेको भन्दै गृहमन्त्री लेखकले त्यो समीकरण निर्वाधरुपमा २०८४ सम्मै पुग्ने बताए । लुम्बिनी प्रदेश गौतमबुद्वको जन्मस्थल रहेकाले शान्ति सुरक्षा पूर्ण सुरक्षित बनाउनुपर्ने बताए । उनले गोष्ठि विभिन्न प्रदेश हुँदै लुम्बिनीमा गरिएको बताए ।
गोष्ठिमा गृह सचिव गोकर्णमणी दुवाडी, लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री आदेशकुमार अग्रवाल, नेपाल प्रहरीका प्रहरी प्रमुख वसन्त कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापासहित लुम्बिनी प्रलेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको छ । गोष्ठिमा सीमा सुरक्षा, राजस्व चुहावट, प्रदेशको सुरक्षा चुनौतीका विषयमा छलफल गरिने गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेले बताए ।
