किन अवरुद्ध भयो भारत बंगलादेशबीचको रेल र बस सेवा ?

पुस १, २०८१

पर्वत पोर्तेल

Why was the train and bus service between India and Bangladesh blocked?

सिलिगुडी — भारत र बंगलादेशबीच तीन वटा रुटबाट  रेल तथा चार वटा रुटबाट बस सेवा सञ्चालित थियो । केही समययता न रेल सेवा चलेको छ, न त बस नै । दुई देशबीच जोड्ने यी दुवै यातायातका पूर्वाधार अनिश्चितकालका लागि अवरुद्ध छ । 

बंगलादेशको पछिल्लो  राजनीतिक घटनाक्रम र शेख हसिना सरकारको पतनका कारण भारत–बंगलादेशबीचको सम्वन्धमा धरार पैदा भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘त्यसैको प्रत्यक्ष असर भारत–बंगलादेशबीचको रेल र बस सेवामा देखा परेको हो,’ भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । 

१ जुन २०२२ मा सुरु भएको ‘मिताली एक्सप्रेस’ रेल सेवा भारत–बंगलादेश मित्रताको प्रतीकका रूपमा मानिन्छ । तर, यो रेलमाथि हालै बंगलादेशमा आक्रमण गरियो । रेलका अधिकांश डिब्बाहरु तोडफोड गरिए । झ्यालका ऐनाहरू फुटाइएर पठाइयो । त्यसपछि यो रेल बंगलादेश फर्किएको छैन । 

खासमा भारत–बंगलादेशबीच तीन स्थानबाट रेल सम्पर्क छ  । उत्तर बंगालको न्यू जलपाइगुडी–ढाकाका लागि मिताली एक्सप्रेस, कोलकाता–ढाकाका लागि मैत्री एक्सप्रेस र कोलकाता–खुल्नाका बन्धन एक्सप्रेस रेल सेवा सञ्चालित थिए । यी तीनै रुटका रेल अहिले अवरुद्ध छन् । 

मैत्री एक्सप्रेस कोलकातादेखि ढाका जोड्ने मुख्य यातायातको साधन हो । ब्रिटिस उपनिवेशकालका दुई पुराना रेल मार्गलाई भारतले सन् २००८ मा पुनः सञ्चालनमा ल्याएको थियो । जसले भारत–बंगलादेशबीचको भाइचारा,  मित्रता र शान्ति प्रवर्द्धनमा सघाउ पुगेको मानिन्छ । 

भारत स्वतन्त्र हुनुअघि नै कोलकाता– तत्कालीन पूर्वी बङ्गालको खुल्ना र जेसोरजस्ता सहरहरू जोड्ने गरी रेल चल्थ्यो । सन् १९६५ को भारत–पाकिस्तान युद्धका बेला भारत र पूर्वी पाकिस्तान (हालको बंगलादेश) बीचका सबै रेल सेवा बन्द गरिएको थियो ।

भारत र बंगलादेशले पाँच दशकभन्दा लामो समयपछि कोलकाता– खुल्नाबीचको रेल सेवा २०१७ नोभेम्बर ९ मा सुरु गरेको थियो । बन्धन एक्सप्रेस नामको रेललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशी प्रधानमन्त्री शेख हसिना र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भर्चुअल माध्यमबाट संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

भारत–बंगलादेशबीच रेल मात्रै हैन, बस सेवा पनि ठप्प छ । भारत–बंगलादेश बस सञ्चालन गर्ने एक व्यवसायी जुयेल घोषका अनुसार भारत–बंगलादेशबीच गत  अगस्त महिनादेखि नै सीमा आउजाउमा प्रवेशाज्ञा पनि बन्द छ । ‘भारत–बंगलादेशबीचको अघोषित नाकाबन्दीले व्यापार ठप्प भएको छ’, ती व्यवसायी भन्छन्, ‘परिस्थितिमा कहिले सुधार आउँदा अनुमान गर्न सकिने अवस्था छैन ।’ 

बंगलादेशसँग भारतले च्याङग्राबन्दा–ढाका, फूलबारी–ढाका, कोलकाता–ढाका, कोलकाता–खुल्ना, अगरतला–ढाका र सिलोङ–गुवाहाटी–ढाका गरी पाँचवटा मुख्य रूटबाट बस सञ्चालन गर्दै आएको थियो । अहिले यी पाँचवटै रुटको यातायात सम्पर्क अवरुद्ध छ । 

‘विगतमा यो रुटबाट भारत आउने र बंगलादेश जाने यात्रीहरूको भीड हुन्थ्यो,’ फूलबारी–ढाका रुटको वसका चालक नेपालीभाषी गौतम छेत्रीले भने,‘अहिले त बेहाल छ ।’ उनका अनुसार भारतले बंगलादेशीलाई र बंगलादेशले भारतीयलाई भिसा नदिँदा अवागमन ठप्प छ । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully