मीनबहादुर गुरुङले दान गरेको जग्गामा कार्यालय बनाउन एमालेलाई बाटो खुल्यो

पुस १, २०८१

कान्तिपुर संवाददाता

The way was opened for UML to build an office on the land donated by Meen Bahadur Gurung

काठमाडौँ — सरकारको नेतृत्व गरिरहेको एमालेको पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले दान गरेको जग्गा र त्यसमा निर्माण हुने भवनविरुद्धको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र बालकृष्ण ढकालको संयुक्त इजलासले सोमबार एमालेलाई गुरुङको जग्गा र भवन दानविरुद्धको रिट खारेज गरेको हो ।

न्यायाधीशद्वय मुसलमान र ढकालको यो आदेशसँगै गुरुङले दान गरेको जग्गामा एमाले केन्द्रीय कार्यालय निर्माण हुने बाटो खुलेको हो । निवेदक अधिवक्ताहरू ज्ञानबहादुर बस्नेत, श्यामकृष्ण मास्के र अर्जुन थापाले सरकारको नेतृत्व गरिरहेको पार्टीले व्यापारीसँग जग्गा दानमा लिनु गैरकानुनी भएको भन्दै एमाले र भाटभटेनीका सञ्चालक गुरुङलाई विपक्षी बनाएर रिट दायर गरेका थिए ।

रिट निवेदनमा दान दिने गुरुङ दान लिने एमालेले नेतृत्व गरिरहेको सरकारको नजरमा अभियुक्त रहेको, गुरुङविरुद्ध दुईवटा मुद्दा अदालतमा विचाराधीन रहेको र अदालतबाट दोषी ठहर भएको समेत उल्लेख थियो । ललिता निवास जग्गा भ्रष्टाचार मुद्दामा दान दिने व्यक्ति दोषी ठहर भएको र २ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवानासहित जग्गा जफतको फैसला भएको पनि निवेदनमा उल्लेख गरिएको थियो ।  

कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा एमालेलाई केन्द्रीय कार्यालय निर्माण गरेर दिनका लागि व्यवसायी मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले १० रोपनी १४ आना जग्गा दिएका छन् ।

गत असोज २५ मा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङका दम्पतीले संयुक्त रूपमा उक्त भवन निर्माणको शिलान्यास गरेका थिए । उक्त भवन १ वर्षभित्र निर्माण गरेर एमालेलाई हस्तान्तरण गर्ने गुरुङले प्रतिबद्धता जनाएका थिए ।

कान्तिपुर

Link copied successfully