प्रहरीले सरकारी वकिललाई बुझायो रवि लामिछानेमाथिको अनुसन्धान प्रतिवेदन 

पुस १, २०८१

दीपक परियार

The police submitted the investigation report on Ravi Lamichhane to the public prosecutor

पोखरा — कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

लामिछानेमाथि अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाइएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त शर्माले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको अभियोगमा लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ प्रहरी हिरासतमा छन् । प्रहरीले लामिछानेलाई कात्तिक २ गते हिरासतमा लिएको थियो ।

उनीहरूमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा अनुसन्धान भइरहेको छ । सम्पत्ति शुद्धीकरणमा अनुसन्धानका लागि दुई महिनासम्म हिरासतमा राखेर अनुसन्धान गर्न मिल्ने कानूनी प्रावधान छ । जसअनुसार लामिछानेलाई प्रहरीले हिरासतमा लिएको आगामी शनिबार दुई महिना पूरा हुन्छ । 

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले भर्खरै प्रहरीबाट अनुसन्धान प्रतिवेदन प्राप्त भएको र अध्ययनकै क्रममा रहेकाले मुद्दा अदालतमा पेश गर्नेबारे तयारीमात्रै भइरहेको बताइन् । लामिछानेसहितलाई अनुसन्धानका लागि पछिल्लो पटक थपिएको म्याद सोमबार सकिदैछ ।

मंगलबार प्रहरीले पुन: म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी छ । जिल्ला न्यायाधिवक्ता काफ्लेले मंगलबार पनि अदालतमा म्याद थपका लागि अपिल गरिने बताइन् ।

'अनुसन्धान प्रतिवेदनको अध्ययन गर्नै बाँकी छ । कुन कुन कसुर आकर्षित हुन्छ भन्ने निर्क्योल गर्न समय लाग्ने भएकाले मंगलबार पनि म्याद नै मागिनेछ,' उनले भनिन् ।

दीपक परियार परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully