०७८ वैशाख ११ मै ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत थियो । अहिले ८८ प्रतिशत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले जनाएको छ ।
काठमाडौँ — ०७८ वैशाख ११ मै प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको धरहरा निर्माणको काम अझै सकिएको छैन । ०७२ वैशाखको भूकम्पले धरहरा भत्काएपछि नयाँ निर्माण गरेर उद्घाटन गरिएको थियो । भूकम्प गएको ९ वर्षमा धरहरा ठडियो, तर निर्माण थालेको ६ वर्षमा काम भने पूरा भएको छैन ।
ओलीले उद्घाटन गर्दा समग्र आयोजनाको प्रगति ४२ प्रतिशत थियो । अहिले ८८ प्रतिशत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) आयोजनाका निर्देशक प्रकाश अर्यालले बताए । धरहराको टावर र गार्डेन निर्माणको काम सकिसकेको भएर संविधान दिवसको अवसर धरहरा गत असोज ३ मा खुल्ला गरिएको थियो । सुरुमा नि:शुल्क खुल्ला गरिएकोमा गत मंसिर ९ गतेबाट शुल्क तोकिएको छ ।
१० वर्षभन्दा माथिका नागरिकलाई धरहरा चढ्दा २ सय रुपैयाँ शुल्क तोकिएको छ । विद्यार्थी,ज्येष्ठ नागरिक, अपांगलाई ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । सार्क राष्ट्रबाट आउने पर्यटकलाई प्रतिव्यक्ति ५ सय र सार्कबाहेक राष्ट्रबाट आउनेलाई प्रतिव्यक्ति १ हजार रुपैयाँ शुल्क तोकिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
तस्बिरहरू : अंगद ढकाल/कान्तिपुर
तीन तला पार्किङको व्यवस्था गरिए पनि सञ्चालनमा आइनसकेकाले अहिले शुल्क उठाइएको छैन । ‘९ गतेदेखि अहिलेसम्म करिब २० हजारले धरहरा चढिसकेका छन्, साताको एक दिन बुधवार धरहरा चढ्न बन्द गरिन्छ,’ अर्यालले भने, ‘अहिले बिहान १० देखि ४ बजेसम्म मात्र खुल्ला गरिएको छ, चार बजे बन्द गर्नुपर्ने भएकाले तीन बजे धरहरा परिसरभित्र प्रवेश गरिसक्नु पर्ने छ ।’
निःशुल्क हुँदा दैनिक दुई हजारभन्दा धेरैले धरहरा चढ्थे । अहिले औषतमा दैनिक १२ सयले चढ्ने गरेको अर्यालले बताए । ‘सार्वजनिक बिदाको दिन २३ सयसम्मले एकैदिन धरहरा चढ्ने गरेका छन्, विदेशीहरू पनि धरहरा चढ्न आउने गरेका छन्,’ उनले भने, ‘दुई सिफ्टमा काम गर्ने कर्मचारीको व्यवस्था नहुँदा १० देखि ४ बजेसम्मका लागि मात्र समय तोकिएको छ ।’ जसले गर्दा भीडलाई व्यवस्थापन गर्न गारो भइरहेको उनले सुनाए ।
०७५ असोज १४ मा बनाउन सुरु गरिएको धरहरा निर्माणको म्याद पटक/पटक थप गर्दा पनि नसकिएको हो । सुरु ठेक्का सम्झौताअनुसार निर्माण सकिनुपर्ने अवधि ०७७ असोज १४ मा नै थियो । पाँचौं पटक ०८० असोजसम्म म्याद थप गरिए पनि काम सकिएन । छैटौंपटक असोज २० सम्मका लागि म्याद थप गरिएको थियो, तर पुरै काम सकिएको छैन । ठेक्का जीआईईटीसी–रमण जेभीले लिएको छ । जीआईईटीसी चिनियाँ कम्पनी भए पनि काम नेपाली ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनले गरिरहेको छ, जसलाई ३ अर्ब ४८ करोड १६ लाख रुपैयाँमा ठेक्का दिइएको हो ।
‘असोज २० सम्म धरहराको निर्माणको काम सम्पन्न गर्नुपर्ने थियो,’ उनले भने, ‘ठूलो संरचना, धेरै प्राविधिक जटिलता र कतिपय निर्माण सामग्री नेपालमै नपाइने र बाहिरबाट ल्याउनुपर्ने भएकाले समय लागेको हो ।’
पार्किङको व्यवस्था गरिएको तीनतलाको बेसमेन्टमा लाइटिङ र भेन्टिलेसन टेस्टिङको काम बाँकी छ । ‘धरहरा परिसरभित्र रहेको पुरानो सुन्धारा र पुरानो धरहराको संरक्षण गर्न सकिएको छैन,’ उनले भने, ‘पुरातत्व विभागले चासो देखाएर यसको संरक्षण गर्नेगरी काम अघि बढाएको छ ।’ सुन्धारामा प्राकृतिक रूपमा कसरी पानी ल्याउने भन्नेबारे अहिलेसम्म केही काम हुन सकेको छैन । म्युजियम बनाउने काम भने अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
‘अब काम सक्न धेरै समय लाग्दैन,’ उनले भने, ‘सबै काम अन्तिम चरणमा पुगेको छ ।’ कहिलेकाहीँ विद्युत् आपूर्ति बन्द हुँदा छोटो समयका लागि सेवा अबरुद्ध हुने गरेको र त्यसलाई दिगो रूपमा समाधान गरिने उनले सुनाए । धरहरा चढ्न सशुल्क गरिएदेखि ३१ लाख रुपैयाँ (बुधबारसम्म) राजश्व उठिसकेको छ । ‘प्रचारप्रसार नगर्दा पनि धरहरा चढ्न आउनेको संख्या उत्साहजनक छ,’ उनले भने, ‘कर्मचारीको पर्याप्त व्यवस्था गर्न नसक्दा भने समस्या भएको छ ।’
अहिले समिति नबन्दासम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमार्फत यसको सञ्चालन हुनेछ । यसको अध्यक्ष सहरी विकास मन्त्रालयका सचिव रहन्छन् । सरकारले काठमाडौंको धरहरा, झापाको दमक भ्युटावरसहित देशका ६ वटा भौतिक संरचनालाई ‘विशिष्ट संरचना’ घोषणा गरेसँगै सञ्चालन निजी क्षेत्रबाट गराउने प्रस्ताव अघि सारेको छ ।
सहरी विकास मन्त्रालयले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश ०८१ जारी गरेर यस्तो व्यवस्था गरेको हो । त्यसैले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले सार्वजनिक निजी साझेदारीअन्तर्गत कानुनबमोजिम अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्ने गरी खरिदसम्बन्धी मापदण्ड बनाउने सहरी विकास मन्त्रालयले जनाएको छ ।
