उपनिर्वाचनको नतिजाले झस्किएको एमालेका ६ संकल्प

पार्टी नेतृत्वविरुद्ध भइरहेको घेराबन्दी र आक्रमण बढेको भन्दै त्यसको प्रतिवाद गर्न नेता–कार्यकर्तालाई निर्देशन

पुस १, २०८१

गंगा बीसी

6 resolutions of UML shaken by the result of the by-election

काठमाडौँ — स्थानीय तहको उपनिर्वाचनमा कमजोर नतिजा आएपछि झस्किएको एमालेले राष्ट्रिय शक्ति निर्माणको लक्ष्यसहित ६ संकल्प गरेको छ । संघीय राजधानीमा आयोजित प्रदेश, जिल्ला र भ्रातृ संगठनका इन्चार्ज, अध्यक्ष र सचिवको दुईदिने कार्यशालाले पार्टी संगठन गतिशील बनाउन र जनतासँग जोडिन भन्दै संकल्प प्रस्ताव पारित गरेको हो । 

एमालेले राष्ट्रिय शक्ति निर्माणका लागि ‘मिसन ०८४’ भने पनि स्थानीय तहको उपनिर्वाचनमा प्राप्त नतिजाले राम्रो संकेत नगरेको भन्दै ‘जरैसम्म पार्टी निर्माण’ को अभियान चलाउने निर्णय गरेको छ ।

एमालेले २०८४ को निर्वाचनमा पहिलो पार्टी बनाउने अभियान सुरु गरे पनि कमिटीहरू प्रभावकारी हुन नसकेको कार्यशालाको निष्कर्ष थियो । आइतबार सकिएको कार्यशालाले संगठन सृदृढीकरणको अभियानलाई तीव्र पार्ने निर्णय गरेको छ । 

संघ, प्रदेश र स्थानीय सरकारका कामकारबाहीलाई जनतासँग जोड्ने र त्यसका लागि पार्टी संगठन सक्रिय बनाउने कार्यक्रम पनि तय भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी संगठनलाई देशको तल्लो तहसम्म पुर्‍याउन संकल्प प्रस्ताव घोषणा गरिएको जानकारी दिए । उनका अनुसार वडाकेन्द्रित अभियान चलाउने मुख्य संकल्प एमालेले लिएको छ । निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि भन्दै माघदेखि ३ महिने वडाकेन्द्रित अभियान सञ्चालन गर्ने संकल्प एमालेले गरेको हो । 

राष्ट्रिय कार्यशालाले आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तारसँगै ‘जनतासँग जनसंगठन अभियान’ सञ्चालन गर्ने संकल्प पनि लिएको छ । संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पेस गरेको विवरणअनुसार हाल एमालेमा संगठित सदस्य करिब तीन लाख छन् । त्यो संख्या बढाउने एमालेको संकल्प छ ।

२०८२ को पार्टी सदस्यता नवीकरण २०८१ भित्रै विधिसम्मत ढंगले गर्ने र सबै पार्टी सदस्यलाई अनलाइनमा जोड्ने निर्णय भएको छ । एमालेमा २३ भ्रातृ संगठनका २० लाख सदस्य रहेको तथ्यांक छ । 

युवालाई पार्टीमा जोड्ने नीति लिँदै २०८१ चैतसम्ममा राष्ट्रिय युवा महोत्सव आयोजना गर्ने निर्णय पनि राष्ट्रिय कार्यशालाले गरेको छ । एमाले नेतृत्वविरुद्ध घेराबन्दी, आक्रमण भएको जनाउँदै त्यसको प्रतिवाद गर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिइएको छ । प्रचार विभाग प्रमुख गौतमका अनुसार कार्यशालामा १० विषयमा केन्द्रित भएर समूहगत छलफल गरिएको थियो ।

पार्टी अनुशासन, पार्टी कामको अनुगमन र मूल्यांकन, आर्थिक–सामाजिक रूपान्तरणका लागि जनसरोकार, स्थानीय तहसम्म केन्द्रित पार्टी सुदृढीकरण, व्यवस्थित पार्टी प्रणाली, पार्टीभित्र असन्तुष्टि, अन्तरविरोध र गुटबन्दी अन्त्य, जनसंगठन र गैरभौगोलिक क्षेत्रमा संगठन निर्माण, पार्टी केन्द्रलाई सुझाव, नयाँ सदस्य वृद्धि तथा पार्टी सदस्य सबलीकरण, पार्टी प्रणाली र नेता तथा कार्यकर्ताको कार्यशैली सुधारमा एमालेले छलफल गराएको हो । 

समूहका नेताहरूले केन्द्रदेखि वडा तहसम्मका संगठन सुदृढीकरण गर्ने हो भने जनसरोकारका विषयलाई सम्बोधन गर्नुपर्ने, नेता तथा कार्यकर्ता जनतासँग प्रत्यक्ष जोडिनुपर्ने सुझाव दिएका थिए । समूह नेताहरू कृष्णप्रसाद जैसी, गुलाबजंग शाह, पीताम्बर भुसाल, समिक बडाल, चण्डेश्वर मण्डल, कैलाश ढुंगेल, नवराज शर्मा, खड्गबहादुर राई, पदम खड्का र सूर्य पाठकले वडासम्म कमिटी भए पनि त्यसको व्यावहारिक क्रियाशील नहुँदा केही समस्या भएको लिखित भनाइ राखेका थिए । कतिपय प्रदेश र जिल्लामा गुटबन्दी भएकाले काम हुन नसकेको रिपोर्टिङ पनि गरिएको थियो ।

 कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले एमालेमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको गुट भएको आफूले सुनेको तर त्यो सत्य नभएको बताएका थिए । उनले पार्टीमा गुटबन्दी सह्य नहुने उल्लेख गर्दै सबै नेता आफ्ना लागि बराबर भएका बताएका थिए ।

अध्यक्ष ओलीले पार्टीमा फरक देखिन असहमति राख्ने प्रवृत्ति देखिएको बताएका थिए । ‘पार्टीमा विमति जनाउने तर सही बाटो के हो, त्यो पहिल्याउन नसक्ने ! असहमति राखेर आफूलाई पृथक् देखाउने प्रवृत्ति छ,’ उनले भनेका थिए, ‘इमानदारपूर्वक काम गरे पार्टीमा सुधार आउँछ, सही दिशा अपनाउन इमानदारी चाहियो ।’ 

ओलीले नेता तथा कार्यकर्तालाई गाउँ गएर जनताको अवस्था बदल्ने गरी काम गर्न निर्देशन दिए । ‘तपाईंले परिस्थितिमा परिवर्तन ल्याउने गरी व्यावहारिक रूप दिने काम गर्नु हुनेछ भन्ने विश्वास लिएको छु,’ उनले भने, हाम्रो पार्टी देशमा सकारात्मक परिवर्तन ल्याउन बनेको हो । जनताको जीवनको आवश्यकता परिवर्तनका लागि कम्युनिस्ट पार्टी चाहिएको हो ।’

महासचिव शंकर पोखरेलले संगठनमा समस्या रहेको भन्दै सुधारका लागि वडा तहसम्म गतिशील भएर काम गर्नुपर्ने बताएका थिए । कार्यशालामा स्थानीय तहको ‘उपनिर्वाचनको नतिजा अपेक्षित नआए पनि लज्जित हुनुपर्ने’ अवस्था नभएको निष्कर्ष निकालिएको छ ।

दुई वर्षअघिको स्थानीय तह निर्वाचनमा एमालेले जितेको ठाउँमा उपनिर्वाचनमा पराजित हुनुपर्ने कारण खोज्न भने वडा तहसम्म अभियान चलाइने भएको छ । एमालेका नेता तथा कार्यकर्ता मतदातासँग घुलमिल नभएको, कार्यशैली पार्टीको नीतिविपरीत हुँदै गएको टिप्पणी पनि कतिपयले गरेका छन् । 

गंगा बीसी

Link copied successfully