नेपालमा प्रविधि क्षेत्रमा सहयोग गर्न बाटो खोज्दै जाइका

मंसिर ३०, २०८१

नुमा थाम्सुहाङ

Looking for a way to support the technology sector in Nepal

काठमाडौँ — जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालमा प्रविधि क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको जनाएको छ । जापानको औपचारिक विकास सहायता (ओडीए) अन्तर्गत प्रदान गर्ने सहयोगको कार्यान्वयन गर्ने निकाय जाइकाले नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न बाटो खोजिरहेको जनाएको हो । 

जाइकाका सिनियर रिप्रेजेन्टेटिभ केनीचिरो इजुकाले जापान नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न इच्छुक रहेको बताए । ‘हामी नेपालमा नयाँ क्षेत्रमा सहयोग गर्न इच्छुक छौँ,’ पत्रकार भेटका क्रममा उनले भने, ‘जस्तै; ई–स्पोर्टस्, शैक्षिक प्रविधि, कृषि प्रविधि, जलवायु परिवर्तन, कार्बन समस्यालगायत विषयमा हामी नेपालमा काम गर्न सकिन्छ भनेर हेरिरहेका छौँ ।’ 

नेपाल र जापानबीच सन् १९५६ सालमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । सम्बन्ध स्थापनादेखि जापानले नेपालको दिगो तथा समतामूलक आर्थिक विकासका लागि जाइकामार्फत काम गरिरहेको उनले बताए । ‘जाइकाले नेपालमा पूर्वाधार, शिक्षा, कृषिलगायत क्षेत्रमा काम गर्दैछ,’ उनले भने, ‘अहिलेको नागढुंगा सुरुङमार्ग पनि जाइकाको सहयोगमा निर्माण भइरहेको हो ।’ 

नेपालको पूर्वाधार विकास र जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने क्षेत्रमा जाइकाले काम गरिरहेको उनको भनाइ छ । 

नुमा थाम्सुहाङ कान्तिपुरकी पत्रकार हुन् । उनी आर्थिक-सामाजिक बिटमा कलम चलाउँछिन् ।

Link copied successfully