नमुना सदरमुकामको काम तत्काल अघि बढ्छ : उपप्रधानमन्त्री सिंह

मंसिर २९, २०८१

नवीन पौडेल

The work of the model headquarters will proceed immediately: Deputy Prime Minister Singh

नवलपुर — उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिहंले नेपालकै पहिलो नमुना सदरमुकामको काम तत्काल अगाडि बढ्ने बताएका छन् । 

पुर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा शनिबार आयोजित कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन् । सबै प्रक्रिया पूरा भएको कारण वनमन्त्रीसँग यस बारेमा वार्ता गरेर तत्कालै रुख कटानको आदेश आउने दाबी गरेका हुन् । 

२०७६ वैशाख ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामसहित शिलान्यास गरेको पूर्वी नवलपरासीको नमुना सदरमुकामको काम रुख कटानको अनुमति नपाउँदा अलपत्र छ । यसका लागि आवश्यक जमिन कावासोती नगरपालिका–३ मा रहेको १ सय ८६ बिघा वन क्षेत्रका जग्गा सरकारले आफू मातहत ल्याएको छ । शिलान्यास स्थलको स्तम्भ पनि जीर्ण बनेको छ । नमुना सदरमुकामस्थलमा ५ सय ५२ वटा रुख कटान गरिने भएको छ । त्यसका लागि वन विभागमा प्रक्रिया अगाडि बढाइएको छ । 

सघन सहरी तथा भवन निर्माण आयोजना भरतपुरले जिल्ला प्रशासन कार्यालयसहित दुई वटा भवन निर्माण ठेक्काका लागि ८० करोड विनियोजन भएको छ । भवन ठेक्का पाएको चौधरी कन्स्ट्रक्सन रौतहटले रुख कटान नहुँदा काम अगाडि बढाउन समस्या भएको छ । उपप्रधानमन्त्री सिहंले शनिबार नै कावासोतीको शिव नमुना माध्यमिक विद्यालयको स्वर्ण महोत्सव कार्यक्रममा सहभागी भएका थिए । सो अवसरमा व्यवहारिक शिक्षामा जोड दिएर स्वरोजगार र रोजगारीको सिजर्नामा अबको शिक्षा केन्द्रित हुनुपर्ने उनले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully