काठमाडौँ — नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयन गर्न शुक्रबार निर्वाचन भएको छ । केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखामा नेतृत्व छान्न निर्वाचन गरिएको छ । निर्वाचनको परिणाम आउने क्रम जारी छ ।
जिल्लाअन्तर्गत गोरखा शाखा भने महासंघबाट निलम्बनमा परेकाले निर्वाचन नभएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले बताए । अन्यमा शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको उनले जानकारी दिए । मतदानको समय बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म तोकिए पनि केही जिल्लामा ढिला मतदान सुरु भएकाले साँझ अबेरसम्म मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
संयोजक खनालका अनुसार शुक्रबार राति नै केही जिल्लाको नतिजा आइसकेको छ भने शनिबार बिहानसम्म अधिकांश जिल्लाको नतिजा आइसक्ने अनुमान छ । मनाङ, मुस्ताङ, हुम्ला, अर्घाखाँची, डोल्पा, मुगुलगायतका जिल्लाको नतिजा आइसकेको छ । कतिपय शाखामा सर्वसम्मतबाट नेतृत्व चयन भएको छ ।
केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईं, दीपक आचार्य र रोशन पुरी प्रतिस्पर्धी छन् । महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उम्मिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।
कान्तिपुर शाखामा कुँवर
नेपाल पत्रकार महासंघ कान्तिपुर प्रतिष्ठान शाखाले कान्तिपुर दैनिकका सुरज कुँवरको नेतृत्वमा नयाँ समिति चयन गरेको छ । उपाध्यक्षमा बुद्धिसागर मरासिनी, महिला उपाध्यक्षमा लक्ष्मी भण्डारी र सचिवमा उपेन्द्रराज पाण्डेय चुनिएका छन् ।
सहसचिवमा कुलप्रसाद भट्टराई, समावेशी सहसचिवतर्फ राजु चौधरी र कोषाध्यक्षमा यज्ञ बञ्जाडे छन् । कार्यसमिति सदस्यमा आरती बराल, लक्ष्मीनारायण महर्जन, शुभरत्न शाक्य, पृथ्वीराम श्रेष्ठ, रामकृष्ण श्रेष्ठ, लेखनाथ पन्त र राजकुमार पौडेल चुनिएका छन् । शाखाले महासंघको सर्वोच्च निकायका रूपमा रहेको केन्द्रीय परिषद् सदस्यमा अनिल गिरी, सुरेशराज न्यौपाने र गंगा बीसीलाई चयन गरेको छ । प्रदेश परिषद्मा रोशन साँवा, जनकराज सापकोटा, स्वरूपराज आचार्य र भूमिश्वर पौडेल निर्वाचित भएका छन् ।
थापाथलीस्थित कान्तिपुर मतदान केन्द्रमा शुक्रबार प्रदेश र केन्द्रका लागि कान्तिपुर प्रतिष्ठान शाखा, रेडियो कान्तिपुर र कान्तिपुर टीभीका गरी ६३ जनाले मतदान गरेका थिए ।
