मतदाता फकाउने कार्यक्रम बनाउँदै दलहरू

उपनिर्वाचनको समीक्षा गर्दै राजनीतिक अभियान चलाउने कांग्रेस र एमालेको निर्णय

मंसिर २९, २०८१

गंगा बीसी

Parties making programs to deceive voters

काठमाडौँ — स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै दलहरूले मतदाताकेन्द्रित कार्यक्रम बनाउन थालेका छन् । सत्तारूढ कांग्रेस र एमालेले राजनीतिक अभियान चलाउने निर्णय गरेका छन् । विपक्षी माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी नेपालले पनि शुक्रबार आआफ्नो बैठकमा जनतासँग प्रत्यक्ष जोडिने कार्ययोजना बनाउने निष्कर्ष निकालेका छन् । 

माओवादी स्थायी समिति बैठकमा प्रदेश इन्चार्जहरूले उपनिर्वाचनले उत्साह थपेको उल्लेख गर्दै जनतासँग प्रत्यक्ष जोडिने कार्यक्रम गर्नुपर्ने धारणा राखे । कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेल, मधेशबाट लीलामणि पोखरेल, वाग्मतीबाट अग्नि सापकोटा, गण्डकीबाट दीनानाथ शर्मा, लुम्बिनीबाट चक्रपाणि खनाल, कर्णालीबाट कालीबहादुर मल्ल, सुदूरपश्चिमबाट इन्चार्ज गिरिराजमणि पोखरेलले उपनिर्वाचन नतिजाको समीक्षात्मक रिपोर्ट पेस गरे ।

‘उपनिर्वाचनको नतिजाले उत्साह बढ्दो छ । पार्टी एक्लै प्रतिस्पर्धा गर्नु सही सावित भयो,’ प्रवक्ता अग्नि सापकोटाले भने, ‘कांग्रेस–एमालेले दुईदलीय व्यवस्था अभ्यास गरेका छन्, उपनिर्वाचनले त्यसलाई खण्डित गरेको छ ।’ प्रदेश इन्चार्जहरूले सरकारमा जाने मनसाय त्याग्नुपर्ने धारणा राखेका थिए । बैठकले सरकारविरुद्ध खबरदारीसभा जारी राख्ने निर्णय गरेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपनिर्वाचनको परिणामले पार्टीप्रति विश्वास नटुटेको स्पष्ट भएको भन्दै त्यही आधारमा आगामी कार्यक्रम तय गरिने बताए । 

बैठकले विभिन्न पार्टीबाट माओवादीमा प्रवेश गर्ने वातावरण बनाउने निर्णय पनि गरेको छ । ‘माओवादीमा प्रवेश गरेका व्यक्तिलाई उचित जिम्मेवारी दिने निर्णय भएको छ,’ स्थायी समिति सदस्य कमला रोकाले भनिन्, ‘त्यसका लागि सम्बन्धित समितिले गृहकार्य गर्नेछ । पुस २ मा हुने भनिएको माओवादीको केन्द्रीय समितिको बैठक तयारी नपुगेको भन्दै पुस २१ मा सार्ने निर्णय पनि बैठकले गरेको छ । 

एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले उपनिर्वाचनमा निराशाजनक नतिजा पाएको उल्लेख गर्दै पार्टी निर्माणका लागि आन्दोलनमा जोड दिएको छ । एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले लिखित प्रस्ताव राख्दै आन्दोलनबाट पार्टी निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् । उनले आफ्नो राजनीतिक प्रस्तावमा असारको महाधिवेशनपछि संगठन झन् कमजोर भएको उल्लेख गरेका छन् । पार्टीमा निराशा र अन्योल बढेकाले आन्दोलन नै सुधारको उपाय भएको उनको सुझाव छ । 

‘अहिले पार्टीमा अनेकौं प्रकारका समस्या छन् । निराशा, हतासा, अन्योल, पलायन, निष्क्रियताजस्ता प्रवृत्ति देखिएका छन्,’ उनले लेखेका छन्, ‘जसले कतिपय एमालेसँग सामीप्य खोज्ने, माओवादीसँग नजिकिन खोज्ने र आमरूपमा अन्योलग्रस्त प्रवृत्तिहरू देखिएका छन् । पार्टी निर्माणको एउटा स्पष्ट राजनीतिक कार्ययोजनाले मात्रै यसलाई समाधान गर्न सक्छ ।’ भुसालले गठबन्धन गरेर निर्वाचनमा जाने सोचाइ त्याग्नुपर्ने बताए । ‘गठबन्धनले क्रान्तिकारी पार्टीहरूलाई वैचारिक रूपले नै भुत्ते बनाउँछ,’ उनले उल्लेख गरेका छन् । वाम एकता तत्काल सम्भव नभएकाले आन्दोलनको कार्यक्रम बनाउनुपर्ने भुसालको जोड छ ।

जसपा नेपालको केन्द्रीय कार्यकारिणी बैठकले ‘जनतासँग जसपा’ अभियान र उपनिर्वाचनको समीक्षा गरेको छ । अशोक राईको नेतृत्वमा पार्टी विभाजनपछि भएको महाधिवेशनले उपेन्द्र यादवलाई अध्यक्ष चयन गरी नयाँ केन्द्रीय समिति बनाएर मतदाताकेन्द्रित अभियान जारी राखेको छ । ‘जनतासँग जसपा’ अभियानले मतदातासँग जोडेको निष्कर्ष निकाल्दै बैठकले यसलाई थप विस्तार गर्ने निर्णय गरेको छ ।

जसपा नेपालका प्रवक्ता मनीष सुमनले ‘जनतासँग जसपा’ को चारमहिने अभियानले पार्टीलाई स्थानीय तहसम्म पुर्‍याएको बताए । ‘यही अभियानलाई निरन्तरता दिने कि स्वरूप बदल्ने भन्ने समीक्षा हुँदै छ,’ उनले भने । पार्टीको उपनिर्वाचनको नतिजा मधेश प्रदेशमा सन्तोषजनक भए पनि अरू प्रदेशमा कमजोर देखिएकाले राजनीतिक अभियान चलाउने कार्यक्रम तय गर्ने उनले बताए ।

गंगा

Link copied successfully