यसरी जोडिएका थिए रास्कोट अस्पतालमा रवि लामिछाने 

मंसिर २८, २०८१

तुलाराम पाण्डे

This is how Ravi Lamichhane joined Raskot Hospital

कालीकोट — काठमाडौंमा सञ्चारकर्म गरिरहेका रवि लामिछाने कसरी कालीकोटको रास्कोट अस्पताल बनाउने अभियानमा जोडिए त ? रास्कोट अस्पताल निर्माणमा रकम हिनामिना गरेको र पूर्ण खर्च विवरण स्थानीय तहलाई नबुझाएको प्रश्न उब्जिएपछि यसको पृष्ठभूमि कसरी सुरु भएको थियो भन्ने चासो सुरु भएको छ । 

रास्कोटका स्थानीय अगुवा तुलाराज सिम्खडा स्थानीय राजनीतिमा सक्रिय थिए । एमालेका सक्रिय रहेका उनी पछिल्लो समय एकीकृत समाजवादीको राजनीतिमा छन् । यिनै तुलाराजको अध्यक्ष रहेको नाफारहित संस्था थियो, रास्कोट कम्युनिटी अस्पताल ।

कालीकोट घर भएर अस्ट्रेलियामा अध्ययन गरिरहेकी प्रियंका शाहीले आमा पदमा शाहीमार्फत १ लाख सहयोग दिएपछि यो अस्पताल निर्माणको अभियान सुरु भएको थियो । त्यसलगत्तै रास्कोटका स्थानीयले १ हजारदेखिमाथि स्वेच्छिक सहयोग गरेका थिए । २०७४ मा अस्पताल निर्माण गर्न सहयोगी खोज्दै काठमाडौं आएका बेला उनको भेट भयो, सञ्चारकर्मी रवि लामिछानेसँग । 

अस्पताल निर्माणका लागि सिम्खाडाको अध्यक्षतामा बनेको ९ सदस्यीय समिति नै बनेको थियो । रविले आफू पनि जोडिने बताएपछि सिम्खडाले राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अभियान सञ्चालन गर्न सहज होस् भनेर एक समय राष्ट्रिय स्वतन्त्र पार्टीका महासचिव डा. मुकुल ढकाल र कविन मलेकुलाई सदस्य थप गरेर ११ सदस्यीय बनाए । अनि रविलाई एम्बेसडरका रूपमा अघि सारे । अस्पताल निर्माणमा जोडिएका एक सदस्यका अनुसार रवि जोडिएपछि अस्पताल निर्माणमा डीपी अर्यालसमेत जोडिए । रास्वपामा रहेर पछि श्रममन्त्रीसमेत बनेका अर्यालको त्यतिबेला विदेशमा रहेका नेपालीले पैसा पठाउने कम्पनी इजी लिंक रेमिट्यान्स सञ्चालनमा थियो । उक्त रेमिट्यान्सबाट रकम पठाउने व्यक्तिबाट प्रतिव्यक्ति १०० रुपैयाँ अस्पतालको खातामा जम्मा हुने अभियान त्यतिबेलै सुरु भयो । 

१५ श्ययाको आधारभूत अस्पताल बनाउन रवि लामिछानेको नेतृत्वमा भवन निर्माण तथा अस्पतालभित्रका उपकरण खरिदको काम सुरु भयो ।  अस्पताल व्यवस्थापक कौशल न्यौपानेले  रवि फाउन्डेसनले अस्पतालको पक्की पूर्वाधार निर्माणको सम्पूर्ण जिम्मा लिएको बताए । स्थानीय तहको स्वामित्वमा आएको यही अस्पताल यतिबेला खर्च गरिएको रकममा हिनामिना भएको प्रकरणमा मुछिएको छ । व्यवस्थापक न्यौपानेले अस्पताल निर्माण र दाताले गरेको सहयोगबारे आफूलाई जानकारी नभएको बताउँदै भने, ‘सबै रकम रवि फाउन्डेसनकै खातामा जम्मा भएको हो । उनले भने कहाँ कति केमा खर्च भयो भन्ने उतै सोध्नु होला ।’

रास्कोट अस्पताल बनाउने क्रममा देश विदेशबाट आएको चन्दा र सरकारी अनुदान गरेर ११ करोड लगानी भएको दाबी रवि लामिछाने फाउन्डेसनले गरे पनि सबै खर्च विवरण सार्वजनिक गरिएको छ । त्यसैले रास्कोट नगरपालिकाले पटक-पटक खर्च विवरण सार्वजनित गर्न ताकेता गर्दै आए पनि अस्पताल हस्तान्तरण भएको चार वर्षसम्म पनि फाउन्डेसनले खर्च विवरण दिएको छैन ।

अस्पताल निर्माण सम्पन्न गरी २०७७ चैतमा नगरपालिकालाई हस्तान्तरण गरेका उनले ऋण लागेको भन्दै २०७८ मा ‘लबिइङ’ गरेर तीन तहका सरकारबाट ५ करोड ५२ लाख रुपैयाँ अनुदान पनि लिएका थिए । लामिछानेले आफ्नै नाममा खोलेको फाउन्डेसनबाट पत्नी निकिताको खातामा रकम सारेको पनि भेटिएको छ । प्राइम बैंकमा रहेको फाउन्डेसनको खाताबाट कम्तीमा दुई पटक गरी ४० लाख सिद्धार्थ बैंकमा रहेको निकिताको व्यक्तिगत खातामा सारिएको पुष्टि हुने बैंक स्टेटमेन्ट कान्तिपुरले बुधबार प्रकाशित गरिसकेको छ ।

नगर प्रमुख धर्मराज शाहीले अस्पताल निर्माणमा अनियमितता भएको प्रश्न उठेपछि खर्च विवरण माग गर्दै पत्राचार गरिएको तर त्यसको उत्तर नपाएको बताए । ‘अस्पताल निर्माणमा नगरपालिकाको ३० लाख बराबरको योगदान छ, कर्णाली सरकारले समेत ३२ लाख दिएको छ । तर यी दुवै रकमबारे फाउन्डेसनले कहीँकतै उल्लेख गरेको छैन,’ उनले भने ।

सम्बन्धित समाचार

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully