संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले योजनाबद्ध रूपमा लेखेको ‘स्क्रिप्ट’ अनुसार सरकारले व्यवहार गरिरहेको छ
पोखरा — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापामाथि आक्रोश पोखेका छन् ।
म्याद थपका लागि बिहीबार जिल्ला अदालतमा उपस्थित गराइएका लामिछानेले थापाले लेखेको ‘स्क्रिप्ट’ अनुसार सरकारबाट आफूमाथि व्यवहार भइरहेको आरोप लगाए ।
इजलासमा लामिछानेले समितिको प्रतिवेदनले आफूलाई निर्दोष ठहर्याए पनि सभापति थापाले बोलेको कुरा पुगिरहेको बताए । ‘यहाँ–यहाँ पुर्याइन्छ, यो–यो ठाउँ घुमाइन्छ, संगठित अपराध र सम्पत्ति शुद्धीकरण आकर्षित हुन्छ भनेर उहाँ (थापा) ले मिडियामा भन्दै हिँड्नुभएको थियो,’ उनले भनेका थिए, ‘त्यही स्क्रिप्टअनुसार अहिले छायांकन भइरहेको छ । अहिले मध्यान्तर भएको छ । यो योजनाबद्ध तरिकाले लेखिएको कथा हो । यो सबै लेखक सूर्य थापाको कर्तुत हो ।’ उनले आफूमाथि राजनीतिक प्रतिशोध साधिएको, ‘मिडिया ट्रायल’ गरिएको, सरकारले दु:ख दिने नियत राखेको तर्क दोहोर्याएका थिए ।
आफूलाई राज्यले लखेटिरहेको दाबी गर्दै यस्तो अवस्थामा हिरासतमुक्त गर्ने आदेश दिएर ऐतिहासिक काम गर्न लामिछानेले न्यायाधीशसँग आग्रह गरेका थिए । ‘मलाई जसरी फिल्मी शैलीमा छायांकन गरिराखिएको छ, त्यसले भोलि के हुने हो भन्ने मनमा लागिराखेको छ । तर, भगवान्रूपी न्यायाधीशहरू भएका कारण आदेश र फैसलामा मैले न्याय पाउने नै छु,’ लामिछानेको भनाइ उद्धृत गर्दै जाहेरवालातर्फका अधिवक्ता युवराज पराजुलीले भने, ‘आशा छ, श्रीमान्बाट ऐतिहासिक काम हुनेछ । भोलि रिटायर्ड भएर गइसकेपछि परिवारसँग रहँदा, बस्दा राज्यबाट खेदिएको मान्छेलाई हिरासतबाट मुक्त गरिदिएको थिएँ भनेर श्रीमान्ले गर्व गर्ने ठाउँ हुनेछ ।’
थापाको ‘स्क्रिप्ट’ अनुसार सरकार चल्दा अदालत मूकदर्शक भएको अभिव्यक्ति दिएपछि लामिछानेलाई जिल्ला न्यायाधीश चन्द्रकान्त पौड्यालले सतर्क गराउँदै भनेका थिए, ‘अदालत त्यस्तो होइन, एउटा सामान्य नागरिकलाई जुन हिसाबकिताबले अनुसन्धान गर्नुपर्ने थियो, त्यहीअनुसार गरिरहेको छ । तपाईं गलत हिसाबले नबोल्नुहोस् ।’
सरकारी वकिल र कानुन व्यवसायीको बहसपछि न्यायाधीश पौड्यालले आरोपितलाई बोल्न अनुमति दिएपछि लामिछाने अघि सरेका थिए । म्याद थपका लागि अदालतमा उपस्थित गराइएका छविलाल जोशी, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङ बोलेनन् । उस्तै कसुरमा पक्राउ परेका गुरुङ भने अस्पतालमा उपचाररत भएकाले अदालत गएका थिएनन् । जिल्ला न्यायाधीश पौडेलले अदालतमा उपस्थित गराइएका पाँचै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप पाँच दिन अनुमति दिएको छ । उनीहरू पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन अनुसन्धानका क्रममा पक्राउ परेका हुन् ।
कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न सातौंपल्ट म्याद थप भएको हो । गोर्खा मिडिया नेटवर्कका पूर्वसञ्चालक पूर्वडीआईजी जोशी पक्राउ परेको बिहीबार ८१ दिन पुगिसकेको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अधिकतम ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाइन्छ तर लामिछानेसहितलाई जोशी पक्राउ परेकै दिनबाट म्याद मिलान गर्नुपर्ने भएकाले अब ९ दिनभित्र अदालतमा अभियोगपत्र दायर गर्नुपर्छ ।
