काठमाडौँ — नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनले नयाँ नेतृत्व चयन गर्दैछ । महासंघको नयाँ नेतृत्व चयनका लागि शुक्रबार निर्वाचन भएको हो । शुक्रबार केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि निर्वाचन भएको हो ।
पछिल्लो मतपरिणामअनुसार केन्द्रीय अध्यक्ष पदमा प्रेस चौतारी र नेपाल प्रेस युनियनका तर्फबाट संयुक्त उम्मेदवार निर्मला शर्माले अग्रता बनाएकी छिन् । पछिल्लो परिणामअनुसार उनले ७४० मत पाएकी छिन् । त्यस्तै प्रेस सेन्टर, नेपाल प्रेस युनियनको असन्तुष्ट पक्ष र अन्य संगठनबाट संयुक्त उम्मेदवार बनेका रमेश विष्टले ५०५ मत ल्याएका छन् ।
जिल्लाअन्तर्गत गोरखा शाखा भने महासंघबाट निलम्बनमा परेकाले निर्वाचन नभएको केन्द्रीय निर्वाचन समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले बताए । देशैभर शान्तिपूर्ण र उत्साहपूर्ण रूपमा निर्वाचन सम्पन्न संयोजक खनालको भनाइ छ । मतदानको समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तोकिए पनि केही जिल्लामा ढिला मतदान सुरु भएकाले साँझ अबेरसम्म मतदान भएको निर्वाचन समितिले जनाएको छ ।
संयोजक खनालका अनुसार शुक्रबार राति नै केही जिल्लाको नतिजा आइसकेको छ भने शनिबार बिहानसम्म अधिकांश जिल्लाको नतिजा आइसक्ने अनुमान गरिएको छ । मनाङ, मुस्ताङ, हुम्ला, अर्घाखाँची, डोल्पा, मुगुलगायतका जिल्लाको नतिजा आइसकेको छ ।
केन्द्रीय अध्यक्षका लागि देवीप्रसाद सापकोटा, निर्मला शर्मा, रमेश विष्ट र लालसिंह लामाको उम्मेदवारी परेको छ भने वरिष्ठ उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाईँ, दीपक आचार्य र रोशन पुरीको उम्मेदवारी परेको छ । यसैगरी, महिला उपाध्यक्षमा गंगा पौडेल र नितु पण्डित, समावेशी उपाध्यक्षमा उम्मिद बागचन्द, मोहनकुमार सिंह र सुभाषप्रसाद साह, महासचिवमा जन्मदेव जैशी, प्रकाश थापा, रामप्रसाद दाहाल र लेखनाथ न्यौपानेले उम्मेदवारी दिएका छन् ।
