कार्यशैली पुनर्विचार गर्ने तयारीमा एमाले

संघ र स्थानीय सरकारले आशा जगाउन नसक्दा उपनिर्वाचनमा कमजोर नतिजा आएको विश्लेषण

मंसिर २७, २०८१

गंगा बीसी

UML is preparing to reconsider its working style

काठमाडौँ — एमालेले स्थानीय तह उपनिर्वाचनको परिणाम सन्तोषजनक नरहेको निष्कर्ष निकालेको छ । निर्वाचन परिणामलाई आधार बनाएर कार्यशैली पुनर्विचार गर्ने तयारीमा समेत एमाले लागेको छ । 

 २०८४ को निर्वाचनमा एकल बहुमत ल्याउने गरी ‘मिसन ०८४’ घोषणा गरेको एमालेले उपनिर्वाचनमा अपेक्षित मतपरिणाम आउन नसकेको जनाएको छ । दुई जिसस प्रमुखसहित ४४ पदका लागि भएको उपनिर्वाचनमा एमालेले आठ स्थानमा मात्र विजय हासिल गर्न सक्यो । उपनिर्वाचनमा कांग्रेस १९ र माओवादी ११ स्थानमा विजयी भएका थिए । एमालेले पालिका अध्यक्षमा एक र उपाध्यक्षमा दुई सिट थपे पनि तीन वडाध्यक्ष गुमाएको थियो । राजधानी काठमाडौंकै कीर्तिपुर नगरपालिका प्रमुखमा एमाले तेस्रो स्थानमा पुगेको थियो । चुनाव जित्ने दाबी गरेको काठमाडौं–१६ को वडाध्यक्षमा एमाले करिब सात सय मतले पछि परेको थियो । 

संघ र स्थानीय सरकारले आशा जगाउन नसक्दा, एमालेले जितेका पालिकाले कमजोर कार्य प्रदर्शन गर्दा र स्थानीय नेता तथा कार्यकर्ताले जनसम्बन्ध बलियो बनाउन नसक्दा पार्टीको नतिजा कमजोर बनेको एमालेको विश्लेषण रहेको छ । एमालेले मंगलबार सचिवालय बैठकमा उपनिर्वाचनको समीक्षा गरेको हो । 

बैठकमा महासचिव शंकर पोखरेलले उपनिर्वाचनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै हल्ला गरेजस्तो कमजोर नतिजा नआए पनि अपेक्षाअनुसार नभएकाले समीक्षा गर्नुपर्ने बताएका थिए । बैठकमा खासगरी काठमाडौंलगायतका सहरी क्षेत्रका मतदातालाई जोड्ने कार्यक्रम तय गर्नुपर्ने विषयमा छलफल भएको थियो । ‘उपनिर्वाचनमा एमालेले पालिका अध्यक्ष र उपाध्यक्ष थपे पनि समग्रमा परिणाम उत्साहजनक छैन । यसलाई गम्भीरतापूर्वक लिएका छौं,’ एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने । 

मराजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले केपी शर्मा ओली सरकारले परिणाम दिन चुकेको, कार्यकर्ता नेतामुखी भएको, सहरी मतदाताले नपत्याएको जस्ता कारणले एमालेको पक्षमा कमजोर नतिजा आएको बताए । ‘एमाले नेताहरूले दुईदलीय व्यवस्थाको भाष्य बनाउन खोजे । मतदाताले माओवादीलाई नजरअन्दाज गर्नुपर्ने शक्तिका रूपमा देखेनन्,’ उनले भने, ‘चुस्त संगठन भएको एमालेमा अहिले आएर फिल्डमा काम गर्नेभन्दा नेताको वरिपरि घुम्ने प्रवृत्ति मौलायो । मतदातासँग पुग्न सकेनन् ।’

UML is preparing to reconsider its working style

'उपनिर्वाचनको परिणाममा सन्तुष्ट हुन सकिएन’

 अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष, एमाले

स्थानीय तह उपनिर्वाचनबारे एमालेको समीक्षा के छ ?

सचिवालय बैठकमा महासचिवले स्थानीय निर्वाचनको सामान्य समीक्षा प्रस्तुत गर्नुभयो । यसलाई अझै गम्भीर ढंगले छलफल गर्ने निर्णय भएको छ । उपनिर्वाचनमा पार्टीको जुन परिणाम आयो, त्यसमा सन्तुष्ट हुन सकिएन । जित्नुपर्ने ठाउँमा पार्टी हारेको छ । हारको कारण निराकरण नगरी मिसन ०८४ सफल बनाउन गाह्रो हुन्छ भन्ने निष्कर्ष छ ।

के कारणले कमजोर नतिजा आयो ?

हामी जनताका बीचमा जान नसकेको हो कि, मतदातालाई हाम्रो उद्देश्य, कार्यशैली बुझाउन नसकेको हो कि, उपनिर्वाचनमा उम्मेदवार छनोटमा सही ध्यान दिन नसकेको हो कि भन्ने प्रश्न छन् । 

उपनिर्वाचनमा सहरी क्षेत्रका मतदाताले एमालेलाई रुचाएको देखिएन नि ?

कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिको वडा नं. १६ जित्छौं भनेका थियौं तर हार्‍यौं । यसमा मसिनो गरी सोच्नुपर्छ भन्ने लागेको छ । हाम्रो भनाइ र व्यवहार कतै मिलेन कि भन्ने छ । उपनिर्वाचनमा देखिएका कमीकमजोरी सच्याएर पार्टी योजनाबद्ध रूपमा अघि बढ्नुपर्छ ।

गंगा

Link copied successfully