काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको कम्पनीले नेपाल स्काउटको भवन र जग्गा भोगचलन गरेको भाडास्वरुप पाँच करोड १९ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको छ ।
त्यसमध्ये २ करोड ४० लाखभन्दा बढी रकम सावाँ र २ करोड ७८ लाखभन्दा बढी रकम जरिवाना वापत तिर्न बाँकी रहेको स्काउटले जनाएको छ ।
प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिले स्काउटलाई मन्त्री खड्काको कम्पनीले तिर्न बाँकी रकमको विवरण पठाउन निर्देशन दिएको थियो । उक्त निर्देशनअनुसार स्काउटले बिहीबार राज्यव्यवस्थालाई पत्र पठाएको थियो ।
स्काउटका लेखा अधिकृत चुडामणी कार्कीले पठाएको विवरणअनुसार मन्त्री खड्काको कम्पनीले बिहीबारसम्म २ करोड ४० लाख ६६ हजार ३ सय ५१ रुपैयाँ २९ पैसा बुझाउन बाँकी रहेको छ भने जरिवानाबापत २ करोड ७८ लाख ६१ हजार ५०० रुपैयाँ तिर्न बाँकी छ ।
खड्काको कम्पनीले पछिल्लो २ महिनामा स्काउटको खातामा १ करोड ५० लाख रुपैयाँ दाखिला गरेको थियो । खड्काको कम्पनीले जरिवाना छुट हुनुपर्ने माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने स्काउटले जरिवानासहित बक्यौता असुलको आदेश माग गर्दै मुद्दा दायर गरेको छ । दुवै मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छन् ।
