काठमाडौँ — प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहीबार १२:१५ बजेका लागि बोलाइएको थियो । बुधबार बसेको बैठकले नै आजको बैठकको समय तय गरेको थियो । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा संशोधन राखेका सांसदहरूसँग राज्य व्यवस्था समितिले छलफल गरिरहेको छ ।
बिहीबार समितिको बैठक १२:१५ पछि सुरु भएको थियो । तर, बैठकमा उपस्थित हुन भनेर सांसदहरूलाई भने बिहान साढे १० बजे मात्रै जानकारी गराइएको थियो । बैठकबारे २ घण्टाअगाडि मात्रै एसएमएसमार्फत जानकारी गराइएको सांसदहरूले बताएका छन् ।
स्वतन्त्र सांसद अमरेशकुमार सिंह, माओवादी सांसदहरू माधवप्रसाद सापकोटा, सुशीला श्रीपाइलीलगायतले समिति बैठक बस्नु २ घण्टा पनि समय नदिएर एसएमएसमार्फत जानकारी पठाइएको भन्दै आपत्ति जनाएका थिए । सांसद सापकोटाले भने बैठकमा संशोधनका विषयमा आफ्ना कुरा नराखी बाहिरिए । संशोधनका विषयबारे थप तयारी गर्ने समय नपाइएको भन्दै उनले अर्को दिन समय उपलब्ध गराउन भन्दै बैठकबाट बाहिरिएका हुन् ।
'यो म्यासेज पढेपछि म ठूलो धर्मसंकटमा परेँ । बैठकमा जाउँ तयारी पुगेको छैन, नजाउँ सार्वजनिक रुपमा सांसदहरूका बारे धारणा राम्रो छैन । त्यसैले म के निष्कर्षका साथ यहाँ आएको हो भने समितिमा जान्छु र छलफलको व्यवस्थापन भएन भनी सभापतिमार्फत समितिलाई भन्छु र छलभाग लिन्न,' सापकोटाले भने, 'कम्तीमा १ रात त तपाईंले समय दिनुपर्यो नि । २४ बुँदामा संशोधन दर्ता गराएको छु, हाँसो ठट्टाले त पार लाग्दैन ।'
विधेयकबारे सार्वजनिक रूपमा प्रश्न उठिरहेका बेला संशोधनकर्ता सांसदहरूलाई १२ बजेको बैठकका लागि साढे १० बजे सन्देश पठाएर सक्रियताका साथ काम गर्न नसकिने सापकोटाको भनाइ थियो । उनले अर्को बैठकमा तयारीसहित छलफलमा भाग लिन पाउने व्यवस्था गर्न आग्रह गरेका थिए ।
समिति सभापति रामहरि खतिवडाले भने बुधबार नै सांसदहरूलाई बोलाउने निर्णय भएको बताए । राज्यव्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा ९० जना संशोधनकर्ता सांसदलाई बोलाइएको समिति सचिवालयले जानकारी दिएको छ ।
