काठमाडौँ — वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले एक्लो प्रयासले पर्वतीय संरक्षण गर्न सम्भव नभएको बताएका छन् । ‘अन्तर्राष्ट्रिय पर्वत दिवस २०२४’ को अवसरमा मन्त्रालयले राजधानीमा हिमालयन संरक्षण विषयक आयोजना गरेको कार्यक्रममा मन्त्री शाही उक्त भनाइ राखेका हुन् ।
‘पर्वतीय संरक्षण गर्ने कार्य एक्ले प्रयासले सम्भव छैन,’ उनले भने, ‘यसका लागि साझेदारीको आवश्यक पर्छ ।’ जलवायु–उत्थानशील भविष्य हासिल गर्न सरकार, अन्तर्राष्ट्रिय संस्था, स्थानीय समुदाय, अनुसन्धानकर्ता, नागरिक समाज र निजी क्षेत्रले सहकार्य गर्न आवश्यक रहेको उनको भनाई छ ।
उनले हिमालहरू उच्च जोखिममा रहेको र यी चुनौतीहरूको सम्बोधनका लागि प्रकृतिमा आधारित समाधानको खोजी गरी जलवायु अनुकूलन कार्यक्रम कार्यान्वय गर्नुपर्ने आवश्यकता रहेको औंल्याए ।
सोही अवसरमा मन्त्री शाहीले सन् २०२५ लाई संयुक्त राष्ट्र संघले अन्तर्राष्ट्रिय हिउँ वर्षको रूपमा मनाउने निर्णय गरेसँगै यसमा नेपालले पनि सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने जानकारी समेत गराए ।
