काठमाडौँ — शिक्षाविद् तथा त्रिविका पूर्वउपकुलपति केदारभक्त माथेमाले नाफामूलक विधालय सञ्चालनमा रोक लगाउनुपर्ने बताएका छन् । संसद्को शिक्षा स्वास्थ समितिमा बुधबार विधालय शिक्षा विधेयकमाथि सुझाव दिँदै उनले शिक्षा क्षेत्रमा व्यापार गर्न दिने कि नदिने सोच्न सांसदहरूलाई आग्रह गरे ।
'शिक्षामा निजीकरण बढदै गएको छ । सार्वजनिक विद्यालयबाट विद्यार्थी भागाभग छ । कमजोर बन्दै गएको छ,' उनले भने । शिक्षा जुन गति र दिशातर्फ जानुपर्ने थियो त्यसतर्फ नगएको उनले औंल्याए । सार्वजनिक विद्यालयमा राज्यको लगानी भए पनि किन गुणस्तरीय हुन सकेन भन्दै माथेमाले प्रश्न गरे । नाफामूलक निजी विद्यालय सञचालन गरेर समाजवादको लक्ष्य हासिल नहुने उनको भनाइ छ ।
शिक्षकलाई राजनीति गर्न दिन नहुनेमा पनि उनले जोड दिए । 'शिक्षक प्राध्यापक राजनीतिमा लाग्न मिल्दैन, विचार उहाँहरूको अधिकारको कुरा हो तर उहाँहरूलाई राजनीतिबाट पर राख्नु पर्छ,' उनले भने । शिक्षक विद्यालय व्यवस्थापन समितिसँग उत्तरदायी हुनुपर्ने र विद्यालय बोर्ड अफ ट्रस्टी मोडलबाट सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने उनले बताए । समितिले विधेयकमाथि दफाबार छलफल गर्नुअघि विज्ञहरूको सुझाव लिइरहेको छ ।
