काठमाडौँ — पूर्वअर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्री विष्णु पौडेलसँग धारणा मिल्ने व्यक्तिहरू नियमनकारी निकायमा हुँदा पनि अर्थतन्त्रमा लक्ष्यअनुसार नतिजा नभएको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बुधबारको बैठकमा माओवादीका उपमहासचिवसमेत रहेका पूर्वअर्थमन्त्री पुनले अर्थतन्त्रमा लक्ष्यअनुसार सुधार नदेखिएको बताएका हुन् । अर्थतन्त्र सुधार गर्नेदेखि पुँजीबजार, बीमा क्षेत्रमा आफू अनुकुलका व्यक्ति हुँदा पनि अर्थमन्त्रीले नतिजा देखाउने गरी काम गर्न नसकेको पूर्वअर्थमन्त्रीको भनाइ छ ।
‘हाम्रोमा लगानी प्रवर्द्धन गर्ने, नियमन गर्ने र बजार चलायमान बनाउने बीमा प्राधिकरण, धितोपत्र बोर्डजस्ता निकायमा अर्थमन्त्रीको ट्युनिङ मिल्ने मान्छे हुँदा पनि नतिजा निस्कन सकेको छैन । म आफैं अर्थमन्त्री हुँदा बीमा प्राधिकरणको अध्यक्षको डकुमेण्ट मन्त्रालयमा आएको थियो । फेक देखिएपछि राजीनामा दिनुस् भन्दा मान्नुभएन । आफू स्वतन्त्र निकायको व्यक्ति हुँ भन्नुभयो, अहिले अख्तियारले मुद्दा दायर गरेको छ,' पुनले भने, 'हाम्रोमा आजका दिनमा पनि खर्च कसरी बढाउने भन्ने विषय नै प्रमुख छ । विगतका वर्षका दायित्व नै धेरै हुन्छ । यस्तो अवस्थामा काम गर्न कठिन हुन्छ ।'
अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रममा भएका विषय परिवर्तन गर्न लागेको, पूर्वाधार आयोजना हटाउन लागेका कुरा आएको पुनले बताए । अर्को सरकार वा अर्थमन्त्रीले ल्याएको बजेट भनेर फरक कोणले हेर्नुपर्ने आवश्यकता नभएको पुनले बताए ।
सरकार र नियमनकारी निकायहरूबीच समझदारी नमिल्दा बजारमा ऋण प्रवाह हुन नसकेको पुनको भनाइ थियो । निजी क्षेत्रको अहिले पनि मनोबल माथि उठ्न नसकेको उनको भनाइ थियो ।
