क्यान्सरसँग लड्ने आँट

बाँच्नका लागि ढाडस चाहिएका बेला भोलि नै मर्न लागेको जसरी कहिल्यै भेट्न नआएका आफन्त पनि लाइन लागेर आउँदा साह्रै नमज्जा लाग्दो रहेछ । बिरामी भनेर भेट्न आएकाले उत्साह थपिदिए त ठिकै हुन्थ्यो, निन्याउरो रुन्चे अनुहार लगाएर कुरा गर्दा भएको उत्साह पनि मर्दो रहेछ ।

मंसिर २६, २०८१

स्वरूप आचार्य

Courage to fight cancer

काठमाडौँ — ललितपुरको महालक्ष्मीस्थानस्थित हसपिस नेपालमा पीडा व्यवस्थापनका लागि काभ्रे बेथानचोक–५ की २९ वर्षीया कञ्चन रुम्बा एक महिनादेखि भर्ना भएर बसेकी छन् । उनलाई अन्ननलीको क्यान्सर छ । शरीरको अन्य भागमा पनि क्यान्सर फैलिएका कारण ‘प्यालेटिभ केयर’ अन्तर्गत त्यहाँ उनको पीडा व्यवस्थापन भइरहेको छ ।

कञ्चनलाई गत जेठ १७ मा असह्य पेट दुखेपछि चाबहिलस्थित हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि लगिएको थियो । काठमाडौंको चन्डोलमा दिदी आकाश रुम्बासँगै बस्दै आएकी उनलाई उपचारका क्रममा अन्ननलीमा मासु पलाएको पत्ता लागेको थियो । पछि इन्डोस्कोपी गरेर उक्त भागको नमुना झिकेर परीक्षण गर्दा क्यान्सर पुष्टि भएको थियो । त्यसपछि थप उपचारका लागि भक्तपुरको ताथलीस्थित काठमाडौं क्यान्सर केयर सेन्टर (केसीसी) लगिएको थियो । त्यसयता कञ्चनको क्यान्सरसँगको युद्ध जारी छ ।

दिदी आकाशका अनुसार हेल्पिङ ह्यान्ड्सकै चिकित्सकको सल्लाहमा कञ्चनलाई केसीसी लगिएको थियो । केसीसी लगिए पनि उनलाई क्यान्सर भएको जानकारी भने दिइएको थिएन । अन्ननलीमा मासु पलाएकाले त्यसको उपचारका लागि मात्र अस्पताल भर्ना गरिएको भनिएको थियो ।

तर पढ्नलेख्न सक्ने कञ्चनसँग लामो समय परिवार र चिकित्सकले उनलाई क्यान्सर भएको कुरा लुकाउन सकेनन् । हसपिसको बैठक कोठामा भेट हुँदा कञ्चनको सबैभन्दा ठूलो गुनासो त्यसैमा थियो । ‘क्यान्सरको उपचार मात्र होइन, त्योसँग लडेर जित हासिल गर्नुपर्ने रहेछ । तर लड्नुपर्ने बिरामीलाई नै रोगबारे लुकाइन्छ भने हार त्यहींबाट सुरु हुन्छ,’ उनले भनिन्, ‘अन्य रोग लागेका बिरामीलाई सबै कुरा थाहा हुन्छ । दम, रक्तचाप, मधुमेह भएका बिरामीलाई केही लुकाइँदैन । क्यान्सर भएका बिरामीलाई भने किन लुकाइन्छ ?’

उनलाई परिवारले माया गरेर केही नभनेको हो भन्ने कुराको हेक्का नभएको भने होइन । छेउमै बसेर सबै सुनिरहेकी दिदीतिर पुलुक्क हेर्दै आफ्नो मनको वह पोखिरहँदा उनका आँखा रसाए । ‘दिदी, बुवाले मलाई निकै माया गर्नुहुन्छ भन्नेमा कुनै दुईमत छैन । तर मैले नै सबैभन्दा धेरै संघर्ष गर्नुपर्ने रोगका बारेमा स्पष्ट नभनिदिएकोमा दुखेसो भने छ,’ उनले भनिन्, ‘कसैले पनि क्यान्सरका रोगीबाट उसको अवस्थाबारे नलुकाओस्, बरु त्यसबारे कुराकानी गरे हुन्थ्यो भन्ने मलाई लाग्छ ।’

हसपिसमा भर्ना हुनुअघिसम्म आफ्नो आयु धेरै नभएको ठान्ने कञ्चनमा अब भने क्यान्सरसँग लड्ने आँट पलाएको छ । उनलाई ‘क्यान्सर फाइटर’ भएर यो रोगलाई पनि अन्य रोगझैं सामान्यीकरण गर्ने अभियान सुरु गर्ने इच्छा छ ।

‘क्यान्सरको बिरामी भएपछि अस्पतालका अधिकांश चिकित्सक र स्वास्थ्यकर्मीले नै बेवास्ता गर्ने रहेछन्, मलाई यो फिटिक्कै मन परेन,’ उनले भनिन्, ‘उपचार गरेर जीवन बचाउने अभिभारा लिएका उनीहरूले नै बिरामीप्रति थोरै सहानुभूति पनि नराखी कुनै पनि बेला मृत्यु हुन सक्ने घोषणा गरिदिँदा हाम्रो मनोदशा के होला ?’

उपचाररत रहँदा चिकित्सक तथा स्वास्थ्यकर्मीले क्यान्सरको बिरामी भएकै कारण गरेको व्यवहारले आफू थप विचलित भएको कञ्चन बताउँछिन् । ‘को कतिबेला मर्छ भन्ने त कसलाई थाहा हुन्छ र ? बिरामीकै अगाडि मर्ने बिरामीलाई के उपचार गर्नु, जे जति गरिएको छ त्यो नै धेरै हो भन्ने जस्ता कुराले मलाई धेरै गलायो,’ उनले भनिन्, ‘एकातर्फ सहनै नसक्ने गरी पीडा हुने र अर्कोतर्फ उपचार गर्ने चिकित्सकको बोलीले नै हतास बनाएपछि झनै पीडा हुँदो रहेछ ।’

उनी क्यान्सरका बिरामीलाई कसैको सहानुभूति नभई ढाडस र उत्साह चाहिएको बताउँछिन् । ‘बाँच्नका लागि ढाडस चाहिएका बेला भोलि नै मर्न लागेको जसरी कहिल्यै भेट्न नआएका आफन्त पनि लाइन लागेर आउँदा साह्रै नमज्जा लाग्दो रहेछ,’ उनले भनिन्, ‘बिरामी भनेर भेट्न आएकाले उत्साह थपिदिए त ठिकै हुन्थ्यो । निन्याउरो रुन्चे अनुहार लगाएर कुरा गर्दा भएको उत्साह पनि मर्दो रहेछ ।’ 

दिदी आकाशका अनुसार केसीसीमा पहिलो किमो दिएपछि त्यसको नकारात्मक प्रभावले कञ्चनको अवस्था एकदमै नाजुक बनेको थियो । त्यसबाट बल्लबल्ल बौरिएपछि उनले पुनः उक्त अस्पताल जाने आँट नै गरिनन् । 

थप उपचारका लागि उनलाई अत्तरखेलस्थित नेपाल मेडिकल कलेज लगिएको थियो । त्यहाँको उपचार अनुभव पनि सम्झन लायकको नभएको उनले बताइन् ।

‘नेपाल मेडिकल कलेजमा सुरुमा त उपचार ठिकै थियो । उपचारका लागि आईसीयूमा राखिएको थियो । किमोले गर्दा प्लेटलेट्स ३ हजारसम्म झरेको थियो,’ आकाशले भनिन्, ‘उपचारकै क्रममा जहाँ कहींबाट पनि रक्तस्राव भएर कुनै पनि बेला मृत्यु हुन सक्छ भनेर चिकित्सकले बहिनीकै अगाडि कुरा गर्नुभएछ, त्यसपछि बहिनीको मानसिक अवस्था नै बिथोलियो ।’

क्यान्सरका बिरामीलाई पीडा हुन्छ नै तर यसले अभिभावकलाई पनि ठूलै पीडा दिने रहेछ भन्ने उनको भोगाइले देखाउँछ । क्यान्सर भएकी बहिनीको पीडा कम गर्ने औषधिको एक ट्याब्लेट जोहो गर्न अस्पतालको फार्मेसीमा हारगुहार गर्दा फार्मेसिस्टको रुखो बोलीले उनको मन पनि धेरै पटक छियाछिया भएको छ । ‘हरेक समस्या आफूलाई परेपछि मात्र थाहा हुने रहेछ । पीडा भएर अस्पताल लैजाँदा त सकेसम्म चाँडै डिस्चार्ज गर्न खोज्छन् । त्यसमाथि पीडा कम गर्ने औषधि दिन पनि लोभ गर्छन्,’ उनले भनिन्, ‘उसलाई पीडा हुँदा पीडा कम गर्ने औषधि दिन पनि नपाएपछि यहाँ हसपिसमा ल्याएर राखेको हो ।’

आकाशलाई मात्र नभई कञ्चन आफैंलाई पनि हसपिस जस्ता संस्था सबै क्यान्सरका बिरामीको पहुँचमा हुन सके बाँचुन्जेलको जीवन पीडादायी हुने थिएन भन्ने लाग्छ । ‘घरमा पीडाले छट्पटाउँदै गर्दा र यहाँ आउँदै गर्दा म अब ७–१० दिनभन्दा बढी बाँच्दिनँ जस्तो लागेको थियो । यहाँ आएर पीडामुक्त भएपछि मैले मोक्ष पाएको महसुस गरेकी छु,’ उनले भनिन्, ‘म जस्ता कति मान्छे पीडाबाट मुक्त हुने उपायको खोजीमा होलान् । सबैले मैलेजस्तै शान्तिको अनुभव गर्न पाए मृत्युअघि केही समय भए पनि खुसी हुने थिए होलान् ।’

स्वरूप आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully