सीआईबीले दुर्गा प्रसाईंसँगको बयान सक्यो

भारतीय गुण्डा लरेन्स बिस्नोईसँग आफ्नो कुनै सम्पर्क नरहेको प्रसाईंको दाबी

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

The CIB has obtained a statement from Durga Prasain

काठमाडौँ — नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) ले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग बयान लिने काम सकेको छ । भारतीय गुण्डा लरेन्स बिस्नोईको नाम लिएर नेपाली व्यापारीहरूलाई धम्क्याएको कसुरमा समेत उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । सीआईबी स्रोतका अनुसार प्रसाईंले बयानका क्रममा बिस्नोईसँग आफ्नो सम्बन्ध नरहेको बताएका छन् । 

तर बिस्नोईसँग सम्बन्ध छ भनेर नेपाली व्यापारीलाई धम्क्याउने झापा मेचीनगरका हरिचन्द्र फुयाँलसँग भने उनको फोन सम्पर्क नै भएको देखिन्छ । सीआईबी स्रोतका अनुसार फुयाँल र प्रसाईंबीच लगातार ५ दिन कुराकानी भएको देखिएको छ । सीआईबीले उक्त कलको रेकर्ड परीक्षणका लागि विधिविज्ञान प्रयोगशालामा पठाएको छ । त्यस्तै प्रसाईंले फुयाँललाई ५ लाख रुपैयाँको भौचरसमेत ह्वाट्सएप गरेको भेटिएको प्रहरीले बताएको छ । 

आपराधिक लाभ र संगठित अपराधको कसुरमा अनुसन्धानमा तानिएका प्रसाईंले भारतमा व्यक्ति नै खटाएर नेपालका व्यापारीलाई धम्क्याएर रकम असुलेको विषयमा कैयन् प्रमाणहरू भेटिएको सीआईबी स्रोतको दाबी छ ।

सन् २०१८ मा बलिउड अभिनेता सलमान खानलाई मार्ने धम्की दिएर चर्चामा आएका भारतीय गुण्डा लरेन्स विश्नोईको नाम लिएर नेपालका व्यापारी र व्यवसायीलाई धम्क्याउने कसुरमा प्रसाईंको संग्लनता देखिएपछि सीआईबीले उनीमाथि अनुसन्धान थालेको हो । सीआईबीले यही कसुरमा १४ मंसिरमा झापा मेचीनगरका हरिचन्द्र फुयाँललाई पक्राउ गरिसकेको छ ।

सीआईबीका अनुसार बयानका क्रममा हरिचन्द्रले आफूलाई व्यापारीले धम्क्याएर रकम असुल्न प्रसाईंले लगाएको मात्रै बताएका छैनन्, प्रहरीले उनको फोनमा यी दुईबीचको कुराकानीको अडियो र कागजपत्र साटासाट गरेको प्रमाण पनि दिएका छन् । सीआईबी स्रोतका अनुसार प्रसाईंको मोबाइलमा भेटिएको अडियो रेकर्डले उनको संलग्नताको पुष्टि गर्छ । सीआईबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले अहिलेसम्म तीन चार जना व्यवसायीले लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै उजुरी दिइसकेको र यस्तो धम्की खेप्ने अरू व्यापारी व्यवसायी भएको सूचना पनि आफूहरूले संकलन गरिरहेको बताए ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद भनाइसँगै फर्जी कागजातहरू सार्वजनिक गरेलगत्तै मंसिर ४ मा उनी भक्तपुरस्थित घरबाटै पक्राउ परेका थिए । सुरुमा उनीमाथि साइबर ब्युरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान थालेको थियो । यो विषयमा अनुसन्धान सकिएलगत्तै उनीमाथि सीआईबीले अनुसन्धान थालेको हो ।

दुर्गा प्रसाईंलाई सघाउने हरिचन्द्र को हुन् ?

सीआईबीले भारतमा बसेर प्रसाईंसँगको मिलेमतोमा नेपाली व्यापारी र व्यवसायीलाई धम्क्याउने काममा खटिएका हरिचन्द्र फुयाँलको पृष्ठभूमि माओवादीमा गएर जोडिन्छ । सीआईबीका अनुसार उनी २०५९ सालतिर माओवादीका सक्रिय कार्यकर्ता थिए ।

माओवादीमा सक्रिय रहेकै बेला हरिचन्द्रको भेट दुर्गा प्रसाईंसँग भएको देखिन्छ । सीआईबीका अनुसार पढाइ अघि नबढाएका तर छिटो र धेरै पैसा कमाउने उद्देश्य बोकेका हरिचन्द्र पछिल्लो समय प्रसाईंको निर्देशनमा भारतमा बसेर सामाजिक सञ्जालमार्फत विभिन्न व्यापारी र व्यवसायी धम्क्याउने काममा सक्रिय थिए ।

व्यवसायीले जुन समयमा आफूहरूले धम्की पाए भनेर बताएका थिए, त्यही अविधमा हरिचन्द्र र प्रसाईंबीच सयपटक भन्दा धेरै कुराकानी भएको रेकर्ड पनि प्रहरीले फेला पारेको छ ।

कान्तिपुर

Link copied successfully