श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्नुपर्छ : श्रममन्त्री भण्डारी

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Organizations that conduct health checks of workers must meet international standards: Labor Minister Bhandari

काठमाडौँ — श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले वैदेशिक रोजगारमा जाने श्रमिकहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूलाई अलग-अलग वर्गीकरण गरेर नराख्ने बताएका छन् ।

‘श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको ल्याब राख्नुपर्छ । यस्ता संस्थाहरु ए, बी, सी गरी वर्गीकरण गरेको हुनु हुँदैन,’ नेपाल स्वास्थ्य व्यवसायी महासंघको १९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले भने,‘सबैको हकमा एउटै मापदण्ड हुन्छ । त्यो गुणस्तर हुनुपर्छ । त्यो अन्तर्राष्ट्रियस्तरको हुनुपर्छ । सबैले ती मापदण्डलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ ।’

श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणका लागि श्रम र स्वास्थ्य मन्त्रालयले स्वास्थ्य संस्थाहरूलाई जिम्मेवारी दिएको उनले बताए । ‘हामीसँग ठूला-ठूला अस्पताल छन् । त्यो हुँदाहुँदै वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाउन स्वास्थ्य संस्थाहरूलाई परीक्षणको जिम्मेवारी दिइएको हो,’ उनले भने,‘ती संस्थाहरूको गुणस्तर कायम गर्न मापदण्ड पालना गर्नुपर्छ ।’

Organizations that conduct health checks of workers must meet international standards: Labor Minister Bhandariवैदेशिक रोजगारीमा जाने श्रमिकको मृत्युको पासोबाट जोगाउने जिम्मेवारी स्वास्थ्य संस्थाहरूको रहेको श्रममन्त्री भण्डारीको भनाइ छ । २०६५ सालयता १५ हजार श्रमिकको ज्यान गइसकेको छ । ‘वैदेशिक रोजगारीमा गएका श्रमिकहरू हिटस्ट्रेसबाट प्रताडित छन् । मिर्गौला र मुटुको रोगको सिकार भइरहेको छ । श्रमिकको ‘सडेन डेथ’ भइरहेको छ,’ उनले भने,‘घरबाट निस्केदेखि कार्यस्थलमा काम गर्ने समयसम्मको श्रमिकको स्वास्थ्य अनुगमन गर्ने गरी हामी संयन्त्रको विकास गर्ने गृहकार्यमा छौं,’ उनले भने । 

मुख्य सचिव एकनारायण अर्यालले नेपालमा गरिएको स्वास्थ्य परीक्षणको मूल्यांकन गन्तव्य देशले गर्नुपर्ने परिस्थिति बनिरहेकोले गुणस्तरीयमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताए । ‘हामीले बनाएको मापदण्डबमोजिम स्वास्थ्य परीक्षण गरी पठाएको श्रमिकको गन्तव्य देशले पनि स्वास्थ्य परीक्षण गरिरहेको छ । नेपालमा मेडिकल फिट भएको तर विदेशमा अनफिट हुने अवस्था छ,’ उनले भने,‘हाम्रो कामलाई अर्को देशले पनि मूल्यांकन गर्छ भन्ने विषयमा ध्यान दिनुपर्छ । गुणस्तरसँग सेवा शुल्क पनि जोडिन्छ ।’

श्रम सचिव मुकुन्दप्रसाद निरौला र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घनश्याम उपाध्यायले गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चितताका लागि अनुगमन र कारबाही सँगसँगै लैजाने बताए ।

नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजमले मलेसियाले नेपालमा छानिएको स्वास्थ्य संस्थाहरूसँग नजिक रहेर काम गरिरहेको बताए । ‘मलेसिया जाने श्रमिकको गुणस्तरीय स्वास्थ्य परीक्षणको सुनिश्चित  गर्न हामीले छनोट गरेको संस्थाहरूसँग सहकार्य गरिरहेका छौं,’ उनले भने,‘यो सहकार्यले श्रमिकको कल्याण गर्न दुई देशबीच आपसी विश्वास र प्रतिबद्धता पूरा गर्न सहयोग मिलेको छ । यसले श्रमिकको स्वास्थ्य जोखिमलाई न्यूनीकरण गर्न र कार्यस्थलको वातावरणलाई थप प्रवर्द्धन गरेको छ ।’  

महाधिवेशनले पुनः कैलाश खड्काको नेतृत्वमा १४ सदस्यीय कार्यसमितिलाई सर्वसम्मत रूपमा चयन गरेको छ । कार्यसमितिको वरिष्ठ उपाध्यक्ष महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्ष गायत्री जिसी, द्वितीय उपाध्यक्ष धनबहादुर गिरी, महासचिव दाताराम काफ्ले, सचिव लिलाम्बर झा, कोषाध्यक्ष रामपुकार तिवारी रहेका छन् ।

त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, बेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल रहेका छन् । महाधिवेशनले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणको गुणस्तरीयलाई सुनिश्चित गर्न गन्तव्य देश मलेसिया र नेपाल सरकारले स्वास्थ्य परीक्षणसम्बन्धी लिइएको नीति, ऐन, नियमवाली र कार्यविधिलाई पूर्ण रूपमा पालना गर्ने निर्णय गरेको छ । बन्दसत्रले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहको नेतृत्वमा गठित वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण कार्यको सुधारका लागि विशेषज्ञ अध्ययन कार्यदलको प्रतिवेदनलाई स्वागत गर्दै यसको कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएको छ ।

नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिटसम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । ‘महासंघको सदस्य बन्नुभएको सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको विदितै छ । समय-समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको हो,’ उनले भने,‘कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलबाड गर्ने छुट छैन । हामी हाम्रो व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रदर्शन गर्न कुनै कसुर बाँकी राख्दैनौं ।’

महाधिवेशनमा श्रम क्षेत्रमा निरन्तर रिपोर्टिङ गर्ने सेतोपाटी अनलाइनकी संवाददाता निर्मला घिमिरे, रातोपाटी अनलाइनका संवाददाता कृष्णजंग धामी र मध्याह्न दैनिकका संवाददाता रेशमराज पौडेललाई ५०/५० हजार रुपैयाँ नगद दिई सम्मान गरिएको थियो । त्यस्तै गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गरेको भन्दै सनराइज डाइग्नोस्टिक सञ्चालक बेलबहादुर श्रेष्ठ र चेतना स्वास्थ्य केन्द्रका सञ्चालक चन्द्रमा राईलाई प्रंशसापत्र हस्तान्तरण गरिएको थियो ।

कान्तिपुर

Link copied successfully