पटक–पटक उमेर घटाएर नागरिकता र राहदानीमा केरमेटसहित किर्ते गरेको अख्तियारको दाबी, मुद्दा दायर भएसँगै स्वतः निलम्बनमा
काठमाडौँ — नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध किर्ते र भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ । अध्यक्ष सिलवालले पटक–पटक फरक–फरक जन्ममिति उल्लेख गर्दै किर्ते कागजपत्र बनाएर उमेर ढाँटी राष्ट्रसेवक पदको दुरुपयोग गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा हालेको हो । मुद्दा दायर भएसँगै कानुनी रूपमै सिलवाल स्वतः निलम्बनमा परेका छन् ।
अख्तियारको आरोपपत्रमा सिलवालले २०८० साउन १५ देखि हालसम्म लिएको लाभ सुविधा ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँ १६ पैसा असुलउपर हुनुपर्ने मागदाबी छ ।
‘प्राधिकरण अध्यक्षको हैसियतमा ६५ वर्ष उमेरहदले अनिवार्य अवकाश हुनुपर्नेमा २०८० साउन १६ बाट ६६ वर्षमा प्रवेश गर्दासमेत पदमा बहाल रही सिलवालले राष्ट्रसेवक पदको दुरुपयोग गरी लाभ, सुविधा र अधिकार दुरुपयोग गरिआएको देखिन्छ,’ अख्तियार प्रवक्ता नरहरि घिमिरे भन्छन्, ‘नागरिकतामा पटक–पटक जन्ममिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको समेत भेटिएको छ ।’
अख्तियारका अनुसार सिलवालको जिल्ला प्रशासन कार्यालय पर्साबाट २०३२ चैत २४ मा जारी नागरिकताको प्रमाणपत्रमा उमेर १६ वर्ष उल्लेख छ । पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०६६ वैशाख १७ मा नागरिकताको प्रतिलिपि प्राप्त गर्दा जन्ममिति २०१६ कात्तिक २२ उल्लेख गरिएको छ । त्रिभुवन विश्वविद्यालयबाट जारी स्नातक तहको ट्रान्सक्रिप्टमा जन्ममिति २०१५ साउन १५ लेखिएको छ । सिलवाल स्वयंले भरेको नोकरी तथा वैयक्तिक विवरण (सिटरोल) मा समेत ट्रान्सक्रिप्टकै जन्ममिति उल्लेख गरिएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
सिलवालले सोही जन्ममिति उल्लेख गरी २०४३ साउन १ मा निजामती सेवामा राप तृतीय श्रेणीको पदमा नियुक्ति लिएका थिए । सोही जन्ममितिका आधारमा निजामती किताबखानाबाट निवृत्तिभरण अधिकार पत्र प्राप्त गरी २०७३ साउन १५ मा अनिवार्य अवकाश प्राप्त गरेको देखिएको अख्तियारले जनाएको छ । सिलवाल आफैंले २०१५ साउन १५ लाई नै जन्ममिति कायम/स्वीकार गरे/गराएको प्रवक्ता घिमिरेले बताए ।
तर सिलवालले कूटनीतिक राहदानी, विशेष राहदानी लिने बेलामा भने फाराममा झूटो विवरण दिएको खुलेको अख्तियारले जनाएको छ । प्रवक्ता घिमिरेका अनुसार राहदानी लिने क्रममा सिलवालले किर्ते गरी जन्ममिति २०१८ कात्तिक २४ उल्लेख गरेका छन् । उनले राष्ट्रसेवकको हैसियतले प्राप्त हुने कूटनीतिक राहदानी र विशेष राहदानी प्राप्त गर्न आफ्नो वास्तविक जन्ममितिभन्दा करिब ३ वर्ष उमेर घटाएर किर्ते गरेको अख्तियारले दाबी छ ।
सिलवालविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १५ र दफा १६ को उपदफा (१) बमोजिमको कसुरजन्य कार्यमा सोही ऐनको दफा १५ र दफा १६ को उपदफा (१) बमोजिम कारबाही हुनुपर्ने माग अख्तियारको छ । दफा १५ मा नपाएको ओहदा पाए भनी त्यसको प्रयोग गरेमा वा सुविधा लिएमा एक देखि दुई वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
यस्तै, दफा १६ (१)मा कुनै व्यक्तिले राष्ट्र सेवक ओहदामा पाउने वा सो ओहदामा बहाल रहने वा कुनै हैसियत, लाभ वा सुविधा पाउने उद्देश्यले शैक्षिक योग्यता, नाम तिनपुस्ते, उमेर, जात, थर, ठेगाना, नागरिता, योग्यता वा अन्य कुनै प्रकारको झुटा प्रमाणपत्र पेश गरेमा निजलाई कसुरको मात्राअनुसार ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजार देखि २० हजार रुपौयँसम्म जरिवाना हुनुपर्ने व्यवस्था छ । सरकारले सिलवाललाई २०७७ माघ २० मा चार वर्षका लागि बिमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो, जसअनुसार आउँदो माघ १९ मा उनको चारवर्षे कार्यकाल सकिँदै छ । यसअघि उनी नेपाल सरकारको सचिव थिए । गृहसचिव रहेका बेला उनले अवकाश पाएका थिए । गृहसचिव रहेकै बखत उनले पदको दुरुपयोग गरी जन्ममिति सच्याएका थिए ।
यस्तै बिमा प्राधिकरणमा रहेका बखत पनि २०७९ मा सिलवालले चर्को विवादका बाबजुद सात प्रदेशमा एक/एक वटा लघुबिमा कम्पनीलाई लाइसेन्स वितरण गरेका थिए । एकातिर पुँजी वृद्धिमार्फत बिमा कम्पनीलाई ‘मर्जर’ तथा ‘एक्विजिसन’मा दबाब दिइरहेका बेला सात वटा नयाँ लाइसेन्स वितरण गर्न नहुने भन्दै उनको चर्को आलोचना भएको थियो । आलोचनाका बाबजुद पनि उनले लाइसेन्स वितरण गरेका थिए । पछिल्लो समय लाइसेन्स वितरण गरिएकामध्ये अधिकांश लघुबिमा कम्पनीले राम्रो काम गर्न सकेका छैनन् ।
