‘अमेरिकाको नेपाल र एसिया नीतिमा निरन्तरता’

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

”Continuity in America's Nepal and Asia Policy”

काठमाडौँ — अमेरिकाले ट्रम्प प्रशासनमा पनि एसिया र नेपालसम्बन्धी हालको नीतिलाई निरन्तरता दिने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले बताएका छन् । दुईदिने नेपाल भ्रमणमा आएका लुले सोमबार सञ्चारकर्मीसँगको अन्तर्क्रियामा अमेरिकाले नेपाल र एसिया क्षेत्रमा आफ्नो नीति परिवर्तन नगर्ने बताएका हुन् ।

नेपालका राजनीतिक दलहरू मिलेर ऊर्जा तथा सडक पूर्वाधार विकासमा ५० करोड अमेरिकी डलर अनुदानको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन गर्नु राम्रो भएको उनले बताए । ‘एमसीसी परियोजनाअन्तर्गत १० जिल्लामा १० हजार जनालाई रोजगारीको अवसर हुनेछ । यसमा नेपाली र अरू विदेशी कम्पनीले काम गरिरहेका छन् । जसले नेपाललाई एक वर्षमा विद्युत् निर्यात गरेर १० करोड डलरभन्दा बढी आम्दानी गराउनेछन्,’ लुले भने, ‘नेपालमा सबै मिलेर एमसीसी परियोजना कार्यान्वयन गर्नु राम्रो हो ।’संक्रमणकालीन न्याय सहमतिमा अघि बढेकोमा नेपाल सरकारलाई धन्यवाद दिएको लुले बताए । उनले अब संक्रमणकालीन न्यायलाई सम्पादन गर्ने आयोगहरूमा पदाधिकारी नियुक्ति छिटै हुने आशा व्यक्त गरे । छिमेकी मुलुकसँग नेपालको राम्रो सम्बन्ध भएको अमेरिकाले हेर्न चाहेको पनि उनले बताए ।

दक्षिण र मध्यएसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लु बाइडेन प्रशासनको अन्त्यतिर र ट्रम्प प्रशासन सुरु हुनुअघि नेपाल भ्रमणमा आएका हुन् । उनले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । सोमबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालसँग भेटवार्ता गरे ।

पौडेलसँग अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायतका विषयमा छलफल गरेका थिए । पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए ।

सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्यामा परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए । रिमालसँगको भेटवार्तामा आपसी चासोका विषयवस्तुमा छलफल तथा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाबारे चर्चा भएको थियो ।

कान्तिपुर

Link copied successfully