काठमाडौँ — प्रधानसेनापति अशोकराज सिग्देल भारत प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा प्रधानसेनापति सिग्देल मंगलबार नयाँदिल्लीतर्फ प्रस्थान गरेका हुन् ।
उनले यही मंसिर २६ देखि २९ गतेसम्म भारतको औपचारिक भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
प्रधानसेनापति सिग्देल सैनिक श्रीमती संघकी अध्यक्ष तथा उनकी धर्मपत्नी नीता क्षेत्री सिग्देल सम्मिलित नौ सदस्यीय भ्रमण दलसहित भारत प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा प्रधान सेनापति सिग्देललाई मङ्सिर २७ गते भारतका राष्ट्रपतिबाट भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिह्नबाट सुशोभन गर्ने कार्यक्रम छ ।
त्यस्तै भ्रमणका क्रममा भारतका उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रमसमेत रहेको छ । प्रधान सेनापतिसहितको भ्रमण दल यही मंसिर ३० गते स्वदेश फिर्ता हुने कार्यक्रम छ । प्रधान सेनापति सिग्देलको अनुपस्थितिमा बलाध्यक्ष रथी प्रदीपजंग केसीलाई कायममुकायम प्रधान सेनापतिको कार्यभार दिइएको छ ।
