कान्तिपुरकर्मी मातृका दाहाललाई 'एन्टी करप्सन च्याम्पियन अवार्ड'

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

'Anti-Corruption Champion Award' to Kantipur worker Matrika Dahal

काठमाडौँ — कान्तिपुर दैनिकका पत्रकार मातृका दाहालले अमेरिकी सरकारद्वारा स्थापित ‘एन्टी करप्सन च्याम्पियन अवार्ड (एसीसीए)’ प्राप्त गरेका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्कनले दाहाललाई राजधानी वासिङटन डीसीमा स्थानीय समयअनुसार सोमबार दिउँसो भ्रष्टाचारविरुद्धको प्रतिष्ठित अवार्ड प्रदान गरेका हुन् । 

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले भ्रष्टाचारविरुद्धको अभियान सशक्त पार्दै विश्वभर सुशासन कायम गर्ने लक्ष्यका साथ विभिन्न पेसा–व्यवसायमा रहेर उत्कृष्ट योगदान गर्ने व्यक्तिलाई सम्मान गर्न सन् २०२१ मा ‘एसीसीए’ स्थापना गरेको थियो । यो अवार्ड विदेश मन्त्रालयमार्फत प्रदान गरिन्छ । सन् २०२४ का लागि दाहालसहित विभिन्न मुलुकका १० जना अवार्डबाट सम्मानित भएका छन् । अर्मानियाकी कानुनमन्त्री सर्बुही गल्यान, युगान्डाका प्राध्यापक जीमी स्पायर एससेन्तोंगो, गाम्बियामा सामाजिक अभियन्ता मार्र न्याङ, अल्बानियाका न्यायाधिवक्ता अल्तिन दुवानी, लेबनानका न्यायाधीश कार्ल इरानी, काजकिस्तानका अधिवक्ता दिदर समागुलोभ, कोलम्बियाका लेफ्टिनेन्ट कर्णेल जोर्ज मोरा कोर्टेस र पानामाका महान्यायाधिवक्ता जाभियर इनरिक काराबाल्लो साल्जारले पनि आफ्नो देशमा भ्रष्टाचारविरुद्ध सशक्त भएर काम गरेबापत सम्मान पाएका हुन् । 

अवार्डका लागि छनोट भए पनि भ्रष्टाचारविरुद्ध लडेकै कारण अजरबैजानकी अभियन्तालाई सरकारले धरपकड गरेर जेलमा हालेको भन्दै अवार्ड हस्तान्तरण गर्न नपाएको कार्यक्रममा जानकारी दिइएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसहित भ्रष्टाचारका विभिन्न ‘हाइप्रोफाइल’ काण्ड पर्दाफास गरेबापत कान्तिपुरकर्मी दाहालले उक्त अवार्ड पाएका हुन् । अन्तर्राष्ट्रिय अवार्ड ग्रहणले भ्रष्टाचार र राज्य दोहनविरुद्ध पत्रकारिताका माध्यमबाट सशक्त भएर अघि बढ्न अझ तागत र हौसला मिलेको दाहालले बताए । 

दाहालले ललिता निवासको जग्गा घोटाला प्रकरणमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन बाध्य पार्ने गरी रिपोर्टिङ गरेका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा हिनामिनामा संलग्नविरुद्ध २०७६ माघमा मुद्दा दायर गरेकामा विशेष अदालतले २०८० फागुनमा १ सय ३६ जनालाई दोषी ठहर गरेको थियो । नक्कली भुटानी शरणार्थीका विषयमा दाहालले गरेको रिपोर्टिङपछि अघि बढेको अनुसन्धानका क्रममा अपराधमा संलग्न तत्कालीन उपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, बहालवाला सचिव, सांसदसहितका उच्च पदस्थ व्यक्ति पक्राउ परेका थिए । त्यससम्बन्धी मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ । बुद्धको अस्थिधातु समाधिस्थल रहेको नवलपरासीको रामग्रामस्थित १ सय २० बिघा जमिन ९९ वर्षका लागि विदेशीलाई सुम्पिने गरी भएको प्रपञ्चदेखि सुन तस्करी, पतञ्जलीको हदबन्दी छुट जग्गा अपचलन, बहुचर्चित सहकारी ठगी प्रकरण, प्रहरी र सशस्त्र प्रहरीलाई हतियार खरिद गर्दा भएको घोटालाबारे पनि दाहालले रिपोर्टिङ गरेका थिए । 

अवार्ड समारोहमा अमेरिकी माथिल्लो सदन सिनेटका सदस्य बेञ्जामिन कार्डिन, अमेरिकाका पूर्वसभामुख नान्सी पेलोसीले भ्रष्टाचारविरुद्ध लड्न सहज नभए पनि एसीसीए अवार्ड प्राप्त गर्नेहरूले साहसिक रूपमा काम गरेको बताएका थिए । यो अवार्ड सन् २०२३ मा ११, सन् २०२२ मा ८, सन् २०२१ फेब्रुअरीमा १२ र डिसेम्बरमा १२ जनाले पाएका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully