दुई मुलुकबीचको सम्बन्ध र सहयोगका विषयमा छलफल
काठमाडौँ — दक्षिण एसिया भ्रमणमा आएका अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् । दक्षिण तथा मध्य एसिया मामिला विदेश सहायकमन्त्री लु बाइडेन प्रशासनको अन्त्यमा श्रीलंका हुँदै तीनदिने नेपाल भ्रमणमा आएका हुन् ।
सहायकमन्त्री लु सभापति देउवासँग भेट्न आइतबार बूढानीलकण्ठ पुगेका थिए । भेटवार्तामा दुई मुलुकबीचका बहुआयामिक सम्बन्धका विषयमा कुराकानी भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
लुले दुई मुलुकबीचको सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुरा गरेका थिए । ‘उहाँहरूबीचमा नेपाल–अमेरिकाको समग्र पक्षमा कुराकानी भएको थियो । उहाँहरूले अन्तर्राष्ट्रिय परिवेशलगायत विषयमा पनि छलफल गर्नुभयो,’ स्वकीय सचिव देउवाले भने ।
देउवालाई भेटेपछि लु माओवादी अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका थिए । अध्यक्ष दाहालको सचिवालयका अनुसार दाहालले यस्ता भ्रमण र भेटवार्ताले आपसी सम्बन्धलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे । नेपाल आर्थिक समृद्धिको बाटोमा अघि बढ्न खोजिरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले यसमा अमेरिकालगायत अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव महत्त्वपूर्ण हुने बताएको सचिवालयले जनाएको छ ।
‘हामीले कृषिलाई आधार मानेर ऊर्जा र पर्यटन विकासलाई जोड दिने नीति लिएका छौं,’ उनले भने, ‘सबै क्षेत्रमा सूचना प्रविधिलाई लिडिङ रोलमा राखेर मात्रै नेपाललाई समृद्ध बनाउन सकिन्छ भन्ने हाम्रो विश्वास छ । यसका लागि अन्तर्राष्ट्रिय समुदायबाट हुने सहयोग र लगानी महत्त्वपूर्ण हुन्छ ।’ दाहालले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका साथ मौलिक रूपमा सम्पन्न हुन थालेको जानकारी गराए ।
दाहालले नेपाली युवा विपिन जोशी अहिलेसम्म पनि बेपत्ता रहेको घटना नेपालका लागि चिन्ताको विषय रहेको बताए । उनले हालै जोशी जीवितै रहेको इजरायली पक्षबाट जानकारी आउनु सुखद भएको र जतिसक्दो चाँडो जोशीको रिहाइका लागि अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्नेमा जोड दिए ।
अमेरिकी सहायकमन्त्री लुले नेपालको प्रगति आफूहरूका लागि खुसीको विषय हुने भन्दै सबै प्रकारका सहयोग र सद्भाव बढाउँदै लैजाने बताएको सचिवालयले जनाएको छ । लुले नेपालको शान्ति प्रक्रिया राष्ट्रिय सहमतिका लागि टुंगिन थालेकोमा खुसी व्यक्त गर्दै यो अन्तर्राष्ट्रिय समुदायका लागि सुखद खबर भएको बताए । उनले नेपालको आर्थिक विकासका लागि अमेरिकाले निरन्तर सहयोग गर्दै आएको उल्लेख गरे ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भने भेटवार्ता गर्ने कार्यक्रम छैन । ओली हाल पूर्वी नेपाल भ्रमणमा छन् । सहायक विदेशमन्त्री लुले नेपाली नेताहरूका साथै नागरिक समाजसँग समेत अन्तर्क्रिया गर्नेछन् । उनको भ्रमणले पर्यावरण संरक्षण, महिला सशक्तीकरण, संस्कृति संवर्द्धन र दिगो विकासका क्षेत्रमा नेपाल र अमेरिकी सहकार्यलाई अझ सुदृढ बनाउन भूमिका खेल्ने दूतावासले जनाएको छ ।
