काठमाडौँ — कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकको बन्दसूचीको क्रम सङ्ख्या १९ मा आदिवासी जनजाति समूह महिलातर्फ समावेशी समूहभित्रको प्राथमिकता क्रमसंख्या ५ मा नाम रहेकी सुनिता थापालाई गण्डकी प्रदेशसभा सदस्य पदमा मनोनयन गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले २०७९ सालको प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तर्फबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित विमला गौचनको गत कात्तिक २८ गते निधन भई रिक्त भएको उक्त पदमा थापालाई मनोनीत गर्ने निर्णय गरेको हो ।
पार्टी सभापति शेरबहादुर देउवाले विधानबमोजिम केन्द्रीय सदस्य उमेश श्रेष्ठलाई केन्द्रीय कोषाध्यक्ष पदमा गरेको मनोनयनलाई बैठकले अनुमोदन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बैठकले नेपाल तरूण दलको विधान, २०१० (संशोधन सहित) (सातौँ संशोधन २०८१÷०६÷०६) र नेपाल किसान महासङ्घको विधान, २००८ (संशोधनसहित) (सातौँ संशोधन २०८१)लाई परिमार्जनसहित पारित गरेको छ ।
