लामिछानेमाथि सरकारले गरेको अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु : अध्यक्ष दाहाल

मंसिर २४, २०८१

कान्तिपुर संवाददाता

I condemn the inhumane and vindictive behavior of the government against Lamichhane: President Dahal

काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणलगायतका आरोपमा छानबिनका लागि प्रहरी हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेमाथि 'प्रतिशोधपूर्ण व्यवहार' रोक्न माग गरेका छन् । 

लामिछानेलाई सरकारले अमानवीय व्यवहार गरिरहेको अध्यक्ष दाहालको दाबी छ । सामाजिक सञ्जालमार्फत दाहालले सोमबार सरकारसँग लामिछानेविरुद्ध अमानवीय व्यवहार नगर्न आग्रह गरेका हुन् । 'अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु,' दाहालले भनेका छन्, 'त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।'

लामिछाने कार्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । सहकारी ठगीमा उनीमाथि कास्की प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

उनीमाथि रुपन्देही, चितवन, काठमाडौं र पर्सामा पनि पक्राउ पूर्जी जारी भएको थियो । ती जिल्लाहरूमा सहकारी ठगीमा उनीमाथि पक्राउ पूर्जी जारि भएको हो । उनलाई रुपन्देही, काठामाडौं र चितवन प्रहरीले बयान लिइसकेको छ । सोमबार मात्रै लामिछानेलाई चितवनबाट काठमाडौं हुँदै बयानका लागि पर्सा लगिएको छ ।

कान्तिपुर

Link copied successfully