‘नेपालमा सबै मिलेर एमसीसी परियोजना कार्यान्वयन हुनु राम्रो हो’
काठमाडौँ — अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नयाँ आउन लागेको ट्रम्प प्रशासनमा एसिया र नेपाल नीतिमा निरन्तरता हुने बताएका छन् । दक्षिण र मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री लुले आफू बाइडेन प्रशासनको अन्त्यतिर र ट्रम्प प्रशासन आउनुअघि नेपाल भ्रमण गरेको उल्लेख गर्दै यो क्षेत्रमा अमेरिकी नीतिलाई निरन्तरता दिने बताएका हुन् ।
कूटनीतिक मामिलासम्बन्धी रिपोर्टिङ गर्ने पत्रकारहरुसँगको अन्तरक्रियामा लुले भने,‘अमेरिकाले नेपाल र एसिया क्षेत्रमा आफ्नो नीतिलाई निरन्तरता दिनेछ ।’
उनले नेपालका राजनीतिक दलहरू मिलेर ५०० मिलियन अमेरिकी डलर अनुदानको ऊर्जा तथा सडक पूर्वाधार विकासमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना कार्यान्वयन हुनु राम्रो भएको बताए । उनले सुरुवातमा एमसीसी परियोजनालाई लिएर राजनीतिक दलहरूमा केही तलमाथि भए पनि अन्त्य उक्त परियोजना कार्यान्वयन गर्न सबै सहमत भएको उल्लेख गरे ।
‘एमसीसी परियोजनाअन्तर्गत १० जिल्लामा १० हजार जनतालाई जागिरको अवसर उपलब्ध हुनेछ । नेपाली र अरु विदेशी कम्पनीहरूले काम गरिरहेका छन् । जसले नेपाललाई एक वर्षमा विद्युत् निर्यात गरेर एक सय मिलियन डलरभन्दा बढी आम्दानी गर्छन्,’ सहायक विदेशमन्त्री लुले भने,‘नेपालमा सबै मिलेर एमसीसी परियोजना कार्यान्वयन हुनु राम्रो हो
लुले नेपाल सरकारलाई संक्रमणकालीन न्यायको काम सहमतिमा रहेकोमा आफूले धन्यवाद दिएको बताए । उनले अब संक्रमणकालीन न्यायलाई सम्पादन गर्ने आयोगहरूमा पदाधिकारीहरूको नियुक्तिको काम पनि छिटै हुने आशा व्यक्त गरे । लुले नेपालको आफ्ना सबै छिमेकी मुलुकहरूसँग सम्बन्ध भएको अमेरिकाले हेर्न चाहेको उल्लेख गरे । नेपालको चीनसँगको सम्बन्धबारे गरिएको प्रश्नमा उत्तर दिँदै लुले भने,‘अमेरिका चीनसहित नेपालको सम्पूर्ण छिमेकीहरुसँग राम्रो सम्बन्ध भएको हेर्न चाहन्छ ।’
नेपालको दुई दिने भ्रमणमा आएका लुले आइतबार पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरेका थिए । उनले सोमबार थप दुई महत्त्वपूर्ण राजनीतिक भेटवार्ता गरे । उनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिजालसँग भेटवार्ता गरे ।
पौडेलसँग अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसीसी र यूएसएआईडीअन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा लगानीलगायतका विषयमा छलफल गरेका थिए । पौडेलले नेपालमा राजनीतिक स्थायित्व भएकाले अबको मुख्य प्राथमिकता आर्थिक समृद्धि भएको र त्यसका लागि नेपालमा अमेरिकी सहयोगलाई थप विस्तार गर्न अनुरोध गरेका थिए ।
अमेरिकी सहायक विदेशमन्त्री लुले दक्षिण एसियाका केही देश आर्थिक रूपमा समस्या परे पनि नेपाल आर्थिक वृद्धि र स्थायित्व कायम गर्न सफल भएको भन्दै खुसी व्यक्त गरेका थिए । उनले अमेरिका आगामी दिनमा नेपालमा थप आर्थिक सहयोग गर्ने पक्षमा रहेको जानकारी गराएका थिए ।
रिमालसँगको भेटवार्तामा आपसी चासोका मुख्य विषयवस्तुहरूमा छलफल तथा नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने सम्भावनाहरूबारे चर्चा भएको थियो । उक्त अवसरमा नेपालसँगको निरन्तर साझेदारी र सहयोगप्रति रिमालले धन्यवाद दिएका थिए ।
